मुगुमा थुनुवाहरूको स्वास्थ्य परीक्षण
जिल्ला प्रहरी कार्यालय मुगुमा रहेका ६ जना थुनुवाको पहिलो पटक कार्यालय भित्रै स्वास्थ्य परीक्षण गरिएको छ।
लागुऔषध ब्राउन सुगर, चरेश सहित पक्राउ परेका ५ जना पुरुष र १ जना महिला थुनुवाको मंगलबार स्वास्थ्य परीक्षण गरिएको हो।
प्रत्येक नागरिकहरूको स्वास्थ्य सेवा पाउनु उसको नैसर्गिक अधिकार हो, त्यसैले नागरिकहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउनका लागि थुनुवाहरूलाई स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
स्वास्थ्य परीक्षणमा खटिएका जिल्ला स्वास्थ्य कार्यालय मुगुका डाक्टर अमिर राज गिरीका अनुसार स्वास्थ्य परीक्षण गर्दा एकजना थुनुवालाई उच्च रक्तचापको समस्या भेटिएको छ । भने अन्य थुनुवाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुमा रहेका थुनुवाहरूको चेकजाँच नियमित हुने र विस्तृत चेकजाँचका लागि जिल्ला अस्पताल मुगुमा लगिने र अस्पतालमा थुनुवाहरूको ल्याबमा विभिन्न चेकजाँच हुने पनि चिकित्सक गिरीले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहका अनुसार यस्ता कामले कैदीहरूको जीवन शैलीमा परिवर्तन ल्याउने भएकाले स्वास्थ्य परीक्षणका साथै लागुऔषध सेवनबाट हुने असर र बच्ने उपाय सम्बन्धी जानकारी दिइएको हो।
लागुऔषध सेवन र यसबाट हुने असरबारे जानकारी र स्वास्थ्य परीक्षणपछि थुनुवा खुसी भएको र आगामी दिनमा सुध्रिने मौका पाएको थुनुवाहरूले बताएका छन् ।
अच्युत राज भण्डारी, मुगु