प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न: तपाईंका सांसद हामीसँग झिनो स्वरमा कानेखुसी गर्छन् थाहा छ ?
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदले आफूसँग झिनो स्वरमा कानेखुसी गर्ने गरेको बारेमा प्रधानमन्त्रीलाई जानकारी छ कि छैन भनेर प्रश्न गरेका छन् ।
"नेकपा कार्यकर्ताहरू ठूलो स्वरले बोल्न सक्दैनन्, संसदको लवीमा भेट्दै गर्दा झिनो स्वरमा कहिलेकाहीँ हामीलाई कानेखुसी गरेर भन्छन् हाम्रो प्रधानमन्त्री पहिलेपहिले मार्क्सवादीजस्तो देखिनुहुन्थ्यो। बीचमा समाजवादीजस्तो देखिन थाल्नुभयो। आजभोलि यताबाट हेरे पनि उताबाट हेरे पनि यतिबादीमात्रै देखिनुहुन्छ भनेर भन्छन् प्रधानमन्त्रीजी तपाईंलाई थाहा छ ?," मंगलबार संसदमा थापाले भने ।
थापाले गोकुल बाँस्कोटा र विजय मिश्रबीच भएको लेनदेनको वार्तालाप सञ्चारमाध्यममा छापिनुभन्दा महिनौं अगाडि नै प्रधानमन्त्रीले सुनेको विषयमा संसदमा उभिएर आँखामा आँखा जुधाएर प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीसँग छ कि छैन? भनेर प्रश्न गरे ।
उनले प्रधानमन्त्रीसँग हिम्मत गरेर संसदसँग आफ्ना प्रश्नको सामना गर्नुपर्ने बताए । "हामी यहाँ बसेर उहाँलाई निम्छर होइन, सही प्रश्नहरु सोध्ने छौँ," थापाले भने ।
उनले सभामुखसँग प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीका आसेपासेले उनलाई थाहा नभएको बताउने तर प्रधानमन्त्रीले बाँस्कोटालाई सर्वाधिक प्रतिभाशाली भनेर प्रशंसा गरेको पत्याइदिनु पर्ने किन भनेर समेत प्रश्न गरे ।
"हामीले पत्याउने नै हो भने हाम्रो उहाँलाई प्रश्न रहन्छ यो सबै कुरा तपाईलाई थाहा छैन भने प्रधानमन्त्रीजी तपाईलाई के थाहा छ ? प्रधानमन्त्रीजी तपाईलाई थाहा छ नागरीकहरु के भन्दै छन् ?," उनले भने "यो सेक्युरिटी प्रेसको ठेक्कामात्रै होइन स्याटलाइटको ठेक्का, फोजी विस्तारको ठेक्का, अप्टिकल फाइबरको बिस्तारको ठेक्का, मोवाइल, डिभाइस, म्यानेजमेन्टको, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्न, स्वास्थ्य संस्था, वडा, इकाइमा फ्रि इन्टरनेट पुर्याउने यी सबै ठेक्काका बारेमा प्रधानमन्त्रीलाई सबै कुरा थाहा थियो ।"
उनले परिस्थिति नियन्त्रणबाहिर गएपछि अहिले बाँस्कोटालाई बलिको बोका बनाइको बताए ।
उनले प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भनेर पटक पटक दोहोर्याएको तर, नागरिकहरू "बालुवाटारमा ऐना छ कि छैन" भनेर प्रश्न गरिरहेको बताए ।
एमसीसीको प्रकरणका सन्दर्भमा प्रधानमन्त्रीका पार्टीभित्रका खाँटी राष्ट्रवादीले उनलाई तह लगाइदिएको र पार्टीको बैठकमा एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरालाई लिएर संविधान संशोधन गर्ने प्रस्ताव तयार गर्ने कार्यदल बनाउने भन्ने विषयले प्रधानमन्त्री कमजोर रहेको पुष्टि भएको बताए ।
"प्रधानमन्त्रीजी, तपाईंलाई बाहिर के भन्दैछन थाहा छ, देखिँदाखेरी सुरो यथार्थमा विचरो," उनले प्रधानमन्त्री ओलीलाई भने ।