नेप्से बुलिस ट्रेन्डमा, मंगलबार पनि ४३ अंकले बढ्यो
शेयर बजार परिसूचक नेप्से मंगलबार ४३ अंकले बढेको छ । यो सँगै नेप्से परिसूचक १ हजार ५४५.१९ विन्दुमा पुगेको छ।
आइतबार करीब ७० अंकले बढेको परिसूचक सोमबार स्थिरजस्तो देखिएको थियो । मंगलबार फेरि बजारमा बढोत्तरी आएको हो । विश्लेषकहरूले लामो समय शिथिल बजारमा चमक आएसँगै बुलिस ट्रेन्ड शुरु भएको बताएका छन्।
मंगलबार नेप्सेमा रु. २ अर्ब ९९ करोडबराबरका ७० लाख ५९ हजार कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोबारमा सबैभन्दा धेरै गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवित्तका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्।
नेशनल हाइड्रो, अरुण भ्याली जलविद्युत तथा अपी पावरका लगानीकर्ताले पनि मंगलबारको कारोबारबाट ९ प्रतिशतभन्दा धेरै नाफा बूक गरेका छन्।
मंगलबार जीवन बीमा समूह ७.७८ प्रतिशत, अन्य समूह ६.७७ प्रतिशत, जलविद्युत समूह ४.३४ प्रतिशत तथा व्यापार समूह ४.९९ प्रतिशतले उकालो चढेका छन् । कारोबारमा सबै उपसूचक बढेका छन्।