'मीटू' प्रकरणमा हलिउड निर्माता हार्वी विइनस्टीन अदालतद्वारा दोषी ठहर
कार्यस्थलमा हुने यौन दुर्व्यवहार विरुद्धको अभियान 'मीटू' मा आरोपित चर्चित हलिउड सिनेमा निर्माता हार्वी विनस्टीनलाई अदालतले दोषी ठहर गरेको छ ।
हलिउड अभिनेत्री एन्जोलिना जोली र पाल्त्रोवलगायत करीब ८० भन्दा बढी हलिउडसँग जोडिएका महिलाले निर्माता विनस्टीनमाथि यौन उत्पीडन र बलात्कार गरेको आरोप लगाएका थिए ।
अदालतले लगातार पाँच दिनसम्मको बहसपछि विनस्टीनलाई 'फस्ट डिग्री' र 'थर्ड डिग्री' आपराधिक यौन क्रियाकलापमा दोषी ठहर गरेको हो । अमेरिकाको कानून अनुसार उनलाई २५ वर्षसम्मको कारावास सजाय हुनसक्ने बताइएको छ ।
लस एन्जल्समा दुई महिलालाई बलात्कार र यौन हमला गरेको मुद्दा चलिरहेका ६७ वर्षीय विनस्टीनमाथि कयौं आरोपहरू प्रमाणित हुन सकेका छैनन् ।
एन्जोलिनाले हलिउड प्रवेशको सुरुवाती समयमा हार्वीसँग भोग्नु परेका तीता अनुभवहरू सार्वजनिक गर्दै उनीसँग त्यसपछि कहिल्यै काम गर्न नसकेको आरोप मीटू अभियानमा लगाएकी थिइन् ।
पाल्त्रोवले 'एम्मा' को मुख्य भूमिकामा छानिएपछि हार्वीले एउटा होटलको बेडरुममा बोलाएर अनैतिक क्रियाकलाप गरेको घटना यसै अभियान मार्फत सार्वजनिक गरेकी थिइन्।
अमेरिकाका चर्चित पत्रिकाहरू द न्यूयोर्क टाइम्स, न्यू योर्कर लगायतले हार्वीमाथि लागेका मीटूका आरोपहरूलाई स्थान दिएका थिए ।