राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरमा उपरथी हमाल
नेपाली सेनाका उपरथी ईश्वर हमाल राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमाण्डरमा नियुक्त भएका छन् । यस अघि उक्त पदमा रहेका नेपाली सेनाकै उपरथी शिवराम खरेलले सेनाबाटै अवकास पाएपछि उपरथी हमाल नियुक्त भएका हुन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रसले उपरथी हमाललाई फोर्स कमाण्डरमा नियुक्त गरेका हुन्।
हमालले नेपाललगायत झण्डै ४० देशका सैनिकहरु कार्यरत रहेको मध्यपूर्वको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्नेछन्।
हमाल नेपाली सेनाको आर्मी कमान्ड तथा स्टाफ कलेजमा शिक्षाधिकृत तथा नेपाली सेनाले सञ्चालन गर्ने तयारी गरेको ‘नेसनल डिफेन्स युनिभर्सिटी’ प्रमुखको रूपमा कार्यरत थिए ।
संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा समेत चार पटक सहभागी भएका उपरथी हमालसँग मिलेटरी अवजरभरका रुपमा सन् २००६ मा यूएनओसीआई मिसन र लेबनानमा रहेको युनिफिल मिसनमा सन् १९९३ कण्टिजेन्ट मेम्बरका रुपमा सन् २००० मा बटालियन चिफ अपरेशन अफिसर र १९९० मा प्लाटुन कमाण्डरका रुपमा काम गरेको अनुभव छ।