घरपालुवाको सङ्क्रमणबाट जोगिऊँ
- टीएन घिमिरे
संसारभर नै दुई कारणले पशुपक्षी पालिन्छ– अर्थोपार्जन र सोख । नेपालमा पालिने मुख्य पशुपक्षीमा कुकुर, बिरालो, घोडा, खच्चर, भेडा, च्याङ्ग्रा, बाख्रा, सुँगुर, खरायो, कुखुरा, हाँस, परेवा, मैना, सुगा, तित्रा, माछा आदि हुन् ।
नेपालका शहरी क्षेत्रमा अर्थोपार्जन भन्दा सोखका कारण पशुपक्षी पाल्ने धेरै छन् । सोखका लागि प्रायः कुकुर, बिरालो, खरायो, परेवा, मैना, सुगा, माछा लगायत पशुपक्षी पालिन्छ ।
घरपालुवा जनावरलाई सङ्क्रमणमुक्त राख्न सकिएन भने ती रोग सरेर मानिसकै ज्यान जोखिममा पर्छ । पशुपक्षीबाट मानिसमा सर्ने रोगबारे लामो समयदेखि अन्तर्राष्ट्रियस्तरमै अनुसन्धान भइरहेको छ । चीनबाट फैलिएको ‘कोभिड–१९’ भाइरस पनि जनावरबाटै मानिसमा सरेको वैज्ञानिकहरू बताउँछन् ।
स्वास्थ्य मन्त्रालयको जुनोटिक तथा अन्य सरुवा रोग शाखाका प्रमुख डा. हेमन्तचन्द्र ओझाका अनुसार मानिसमा कुकुर र स्यालबाट रेविज, कुखुरा, हाँस लगायत चराचुरुङ्गीबाट बर्डफ्लु (एच५, एन९, एच७ एन९), सुँगुरबाट मौसमी फ्लु (एच१, एन१), बिरालोबाट गर्भ तुहिने, मुसाबाट इबोला, बाख्रा र गाईबाट टीबी सरेको तथ्य पुष्टि भइसकेको छ ।
सेन्टर फर मोलिक्युलर डायनामिक नेपालले गरेको एक अनुसन्धान अनुसार मुसाबाट मानिसमा सर्ने हान्टा भाइरससँगै अन्य १९ प्रकारका नयाँ भाइरस पनि पत्ता लागेका छन् । नयाँ भाइरस पनि मानिसमा सर्ने जोखिम रहेको डा. दिवेश कर्माचार्य बताउँछन् ।
जुनोटिक रोगको जोखिम
विश्व स्वास्थ्य सङ्गठनले मेरुदण्ड भएका पशु र मानिसबीच प्राकृतिक रुपमा सर्न सक्नेलाई जुनोटिक वा जुनोसेस रोग भनेर परिभाषित गरेको छ ।
हाल विश्वमा देखिने ‘इमर्जिङ’ र ‘रि–इमर्जिङ’ रोगमध्ये ७० प्रतिशतभन्दा बढी जुनोटिक प्रकृतिका भएको डा. ओझा बताउँछन् । नयाँ देखिएका रोग ‘इमर्जिङ’ हुन् भने एक पटक देखिएर हराएका तर, पुनः देखिएका रोग ‘रि–इमर्जिङ’ हुन् ।
पछिल्लो समय जुनोटिक रोगहरूले पशु उत्पादनमा आर्थिक क्षति त गरिरहेको छ नै मानव स्वास्थ्यमा पनि गम्भीर चुनौती ल्याएको छ । पशु चिकित्सक डा. रोशिका श्रेष्ठ भन्छिन्, “जुनोटिक रोगका कारकतत्व विषाणु, जीवाणु, परजीवी र ढुसी हुन् ।”
उनका अनुसार विषाणुजन्य जुनोटिक रोग भन्नाले बर्डफ्लु, इबोला भाइरस, रेविज, जापानिज इन्सेफ्लाइटिस आदिलाई बुझिन्छ । जीवाणुजन्य जुनोटिक रोगमा ब्रुसेलोसिस, लेप्टोस्पाइरोसिस, क्षयरोग, धनुष्टड्ढार, साल्मेनेलोसिस, इ–कोलाई सङ्क्रमण आदि पर्छन् ।
परजीवीजन्यमा सिष्टिसर्कोसिस (जुकाको फुल मस्तिष्कमा गएर बस्ने), इकाइनोकोकोसिस, लुतो, टक्सोप्लाज्मोसिस (जन्मजात अंगभंग), जियार्डियोसिस (पेटको संक्रमण) आदि पर्छन् । ढुसीजन्य जुनोटिक रोगहरू हिस्टोप्लामोसिस्, ब्लास्टा माइकोसिस आदि हुन् ।
यसरी अपनाऊँ सावधानी
पशुपक्षीमा लाग्ने कतिपय रोग खाद्य पदार्थका माध्यमबाट मानिसमा सरिरहेको डा. श्रेष्ठ बताउँछिन् । ‘फुडपोइजनिङ’ को मुख्य कारण पनि काँचो मासु र दूध हो ।
प्रत्यक्ष सम्पर्क अर्थात् छोएमा, टोकेमा वा र्याल, दिसापिसाब आदिका माध्यमबाट रेविज, ब्रुसेलोसिस, मौसमी फ्लु जस्ता रोग सर्छन् । कुकुर, बिरालो, खरायो जस्ता रौं हुने जनावरबाट एलर्जी हुन्छ । दमको मुख्य कारण एलर्जी हो ।
अप्र्रत्यक्ष सम्पर्कलाई पनि रोग सार्ने माध्यमका रुपमा लिइन्छ । यसमा दूषित भेलबाढी÷पानीबाट सर्ने रोग पर्छन् । रोग संवाहक जीवहरू कीरा, लामखुट्टे, उपियाँ, जुम्रा आदिबाट सर्ने रोगलाई भेक्टर बर्न डिजिज भनिन्छ । जापानिज इन्सेफ्लाइटिस, प्लेग आदि रोग यसै अन्तर्गत पर्छन् ।
पशु चिकित्सक डा. श्रेष्ठका अनुसार घरपालुवा जनावरबाट हुनसक्ने सङ्क्रमणबाट बच्न घरमा पालिएका जनावर र तिनीहरूको वासस्थान सफा राख्नुपर्छ ।
त्यस्ता जनावरलाई समयसमयमा नुहाइदिने, मलमूत्रको उचित व्यवस्थापन गर्ने र जनावरसँगको प्रत्यक्ष सम्पर्कमा आउने वित्तिकै साबुन पानीले हात धुने गर्नुपर्छ । घरपालुवा जनावरलाई खान दिइने भाँडाकुँडा र सुत्ने ठाउँ छुट्टै हुनुपर्छ ।
घरपालुवा जनावरलाई नियमित रुपले खोप लगाउने, ६–६ महीनामा जुकाको औषधि ख्वाउने, बच्चा, बूढापाकालाई रोगी जनावरबाट टाढै राख्ने, गर्भवतीलाई बिरालोको दिसापिसाब सफा गर्न नदिने र पशुचिकित्सकसँग सल्लाह गरी जनावरको नियमित परीक्षण र उपचार गर्नुपर्छ ।