नागरिकता कानूनको विरोधमा हिंसात्मक बन्यो दिल्ली: एक जनाको मृत्यु
भारतमा नरेन्द्र मोदी सरकारले ल्याएको नागरिकता कानूनको विरोधमा भएको विरोध प्रदर्शनले हिंसात्मक रुप लिएको छ । महीनौंदेखि जारी आन्दोलन सोमबार राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा व्यापक बनेर हिंसामा परिणत हुन पुगेको हो।
भारत सरकारले ल्याएको विवादास्पद नागरिकता कानूनको विरोधमा महीनौंदेखि शृंखलाबद्ध प्रदर्शन भइरहेका छन् । मुस्लिम, महिला र अल्पसंख्यक समुदायले यस कानूनको विरोध गर्दै आफूमाथि राज्यले नागरिकता खोस्ने प्रपञ्च गरिरहेको आरोप लगाएका छन्।
प्रदर्शनमा झडप हुँदा एक प्रहरी अधिकृतको मृत्यु भएको छ भने एकजना घाइते भएको बीबीसीले जनाएको छ ।
यस अघि शान्तिपूर्ण ढंगले भइरहेको आन्दोलन आइतबारदेखि दिल्लीमा विशाल प्रदर्शनमा परिणत भएको हो । आन्दोलनका क्रममा ढुंगा प्रहार हुनुका साथै चर्को नारावाजी भएपछि प्रदर्शन हिंसात्मक बन्न पुगेको हो ।
सरकारले विरोध प्रदर्शन दबाउन ठूलो संख्यामा प्रहरी तैनाथ गर्नुका साथै गोली समेत प्रहार गरेको छ । साथै प्रदर्शन हुने स्थानलाई लक्षित गर्दै सार्वजनिक स्थलमा भेला वा सभा गर्न समेत केन्द्र सरकारले प्रतिबन्ध लगाएको छ ।
सोमबारदेखि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भारत भ्रमणमा छन् । प्रधानमन्त्री नरेन्द्र मोदी तथा उच्चस्तरीय अधिकारीहरु अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सत्कारमा व्यस्त रहेका छन् ।