महाथिरको रणनीतिक राजीनामा, के अनबर बन्लान् त मलेसियाका नयाँ प्रधानमन्त्री ?
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सुल्तान अब्दुल्ला अहमद शाहसमक्ष राजीनामा दिएका छन् । महाथिरले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न राजीनामा दिएको आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् । यद्यपी, अहिलेसम्म उनले किन राजीनामा दिएका हुन् भन्ने बारेमा कुनै आधिकारिक कारण भने खुलाएका छैनन् ।
महाथिरले आफ्नो विज्ञप्तिमा सोमबार अपरान्ह १ बजे सुल्तानसमक्ष राजीनामा दिएको भनेर दुई लाइनको विज्ञप्ति मात्रै सार्वजनिक गरेका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्स गरेको खुलासा अनुसार महाथिरले प्रधानमन्त्री पदबाट मात्रै नभएर आफ्नो पार्टीबाट समेत राजीनामा दिएका छन् । रोयटर्सले विभिन्न तीनवटा स्रोतहरुको हवाला दिँदै महाथिरले आफ्नो पार्टी प्रीबुमी बेरस्टू मलेसियाको जिम्मेवारी पनि त्यागेकाे जनाएकाे छ । तर यसबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन ।
महाथिरको पार्टीले सत्ता गठबन्धनबाट बाहिरिएको घोषणा भने गरेको छ ।
केही हप्तायता मलेसियामा जारी राजनीतिक उतारचढावले महाथिरको पार्टीले नयाँ सरकार बनाउने समाचारहरू सार्वजनिक भएका थिए ।
महाथिरले सुल्तानसमक्ष राजीनामा बुझाउनु पूर्व सत्ता साझेदार पिपुल्स जस्टिस पार्टीका अध्यक्ष एवं पाकातान हारातानका नेता अनवर इब्राहिमसँग प्रधानमन्त्री निवासमा नै लामो छलफल गरेका थिए । अनवरले महाथिरको राजीनामा दिँदा आफू सँगै रहेको र छलफल भएको स्वीकार गरेका छन् ।
अनवर इब्राहिम नयाँ प्रधानमन्त्री !
महाथिर मलेसियाको राजनीतिमा विगत केही दशकयता निकै शक्तिशाली नाम हो । उनले आफूले राजीनामा दिँदै गर्दा चुनावी गठबन्धनका महत्वपूर्ण सहकर्मी अनवरलाई भावी प्रधानमन्त्री भनेर संकेत गरेका छन् ।
महाथिरको कुनै पनि दलसँग गठबन्धन बनाएर सरकार गठन गर्ने योजना नरहेको अनवरले बताएका छन् । महाथिरले राजीनामा पूर्व उनीसँग गरेको सल्लाहले पनि यो शंकालाई बल पुर्याएको छ ।
मलेसियाको अहिलेको राजनीतिक उतारचढावका लागि महाथिरलाई जिम्मेवार देखाउनका लागि विभिन्न पार्टी र व्यक्तिले उपयोग गर्ने गरेको अनवरले प्रतिक्रिया दिएका छन् ।
अनवरले चुनावी गठबन्धनको बाचाबाट महाथिर कत्ति पनि विचलित नभएको भन्दै अरू कसैसँग पनि गठबन्धन बनाउने सम्भावना नरहेको दाबी गरेका छन् । उनले सुल्तानसँग यस विषयमा छलफल गर्न पनि महाथिर तयार रहेको पनि बताएका छन् ।
भत्कियो गठबन्धन
आइतबार मलेसियाको राजधानी क्वालालम्पुर नजिकैको इलाकामा प्रधानमन्त्री महाथिर, अनवरको पीपुल्स जस्टिस पार्टी (पीकेआर)का केही सदस्य, विपक्षी दलका केही नेता र संसदका सदस्यबीच छुट्टै भेटघाट भएको थियो ।
यस भेटघाटमा गठबन्ध सरकारको विघटन र मलेसियामा एक नयाँ राजनीतिक गठबन्धनको निर्णय गरेको थियो ।
यसलाई देशका दुई प्रमुख हस्ती ९४ वर्षीय महाथिर र ७२ वर्षीय अनवरको लामो राजनीतिक सहयात्राको नयाँ अध्यायका रुपमा हेरिएको छ ।
महाथिर र अनवरबीचको सहकार्य सन् २०१८ को निर्वाचनबाट सुरु भएको हो । सहकार्यबाट उनीहरुले यूएमएनओ-बारीसन नेशनल गठबन्धनलाई सरकारबाट हटाएका थिए।
अनवर सन् १९८२ देखि १९९८ सम्म महाथिरकै सरकारमा उपप्रधानमन्त्री थिए । तर महाथिरले सन् १९९८ मा देशको आर्थिक अभावलाई कसरी सुल्झाउने भन्ने विषयमा सहमति नहुँदा अनवरलाई सरकारबाट निकालिदिएका थिए । सत्ताबाट बाहिरिए लगत्तै ‘समलिंगी अप्राकृतिक यौनसम्पर्क’को आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
अहिले अनवर पत्नी सरकारको उपप्रधानमन्त्री छिन् । त्यसअघि अनवर र महाथिरबीचको सम्बन्ध पनि त्यति सुखद थिएन । तर महाथिरले पटकपटक अनवरलाई सत्ता हस्तान्तरण गर्ने बाचा दोहोर्याइरहेका थिए ।
आजमीनको बहिर्गमन र गठबन्धनमा दरार
गठबन्धनमा उत्पन्न दरार हालै सम्पन्न उपचुनावमा भोगेको पराजयले निम्त्याएको विश्लेषण गरिएको छ ।
अनवरले आफ्नो पार्टीका सहकर्मी मोहम्मद आजमीन अलीसँग सम्बन्ध विच्छेद गरे । महाथिरकै गठबन्धन सरकारका अर्थमन्त्री अलीसँगको अनवरको विभाजनले यो गठबन्धनमा दरार पैदा गराउन मद्दत गर्यो । आजमीन आइतबार साँझ क्वालालम्पुर नजिकै भएको बैठकका सहभागी मध्येका एक हुन् ।
उक्त बैठकपछि अनवरको पार्टीले आजमीनलाई पार्टीको सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।
अजमीनले पनि अनवरको पार्टी परित्याग गरेको घोषणा गरेका छन् । आजमीनले अनवरको पीकेआर पार्टीका १० सदस्यलाई सँगै लिएर बाहिरिएका छन्, जो महाथिरसँगको गठबन्धनका महत्वपूर्ण फ्याक्टरका रुपमा हेरिएका थिए ।
२२२ सदस्य रहेको संसदमा नयाँ सरकार गठनका लागि कम्तिमा ११२ भोटको आवश्यक्ता पर्छ ।
-एजेन्सीको सहयोगमा