कोरोनाभाइरसका कारण ५० जना कामदार कोरिया पठाउने विषय अन्यौलमा
चीनको हुपेई प्रान्तबाट फैलिएको कोडिभ–१९ को संक्रमण दक्षिण कोरियामा विस्तार भएपछि त्यहाँ रहेका नेपाली कामदारबारे चिन्ता प्रकट भइरहेको छ ।
यसैबीच नेपालको वैदेशिक रोजगारीको गन्तव्य मुलुक दक्षिण कोरियामा कोभिड–१९ को संक्रमण फैलिएपछि कामदार पठाउने विषय अन्यौलमा परेको हो ।
सरकारले कोरियामा कोभिड–१९ को संक्रमपछि त्यहाँ नेपाली कामदार पठाउने वा नपठाउने भन्ने विषयका कुनै निर्णय नगरेका कारण अन्यौलमा परेको हो ।
१८ फागुनमा ५० जना नेपाली कामदारले दक्षिण कोरिया जान श्रम स्वीकृति लिइसकेका छन् । कामदार पठाउने विषयको अन्यौलताका बीच सोमबार प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य, परराष्ट्र र श्रम मन्त्रालयका अधिकारिहरु सहितको बैठक बसेको थियो ।
उक्त बैठकमा सहभागि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले श्रम स्वीकृति लिइसकेका कामदार दक्षिण कोरिया पठाउने वा नपठाउने भन्नेबारेमा कुनै निर्णय हुन नसकेको बताए ।
महानिर्देशक दहालका अनुसार कोरियामा नेपाली पठाउने वा नपठाउनेबारे एक-दुई दिनमा निर्णय हुनेछ । बैठकमा सहभागि स्वास्थ्य मन्त्रालयका एक अधिकारिका अनुसार परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरियाको वास्तविक अवस्था बुझेर मात्र निर्णय लिइनेछ ।
१२ फागुनसम्म दक्षिण कोरियामा कोभिड–१९ बाट संक्रमित संख्या ८३३ पुगेका छन् भने सात जनाको मृत्यु भइसकेको छ ।