उतारचढाव हुँदै नेप्से १ दशमलव ९६ अंकले घटेर बन्द, रु. ३ अर्ब ४१ करोडको कारोबार
आइतबार झ्ण्डै ७० अंकले बढेको शेयर बजार परिसूचक नेप्से सोमबार करिब स्थिर देखिएको छ । नेप्से परिसूचक १ दशमलव ९६ विन्दुले घटेर १ हजार ५०२.१८ अंकमा ओर्लिएको छ । आइतबार परिसूचक ६९ दशमलव ५६ अंकले बढेको थियो ।
सोमबार बजार खुल्नेबित्तिकै बढ्न थालेको परिसूचकले उतारचढाव गर्दै १ हजार ५३६ को उच्चविन्दु पार गरेको थियो । तर, यो फेरि क्रमशः घट्दै गएर बजार बन्द हुँदा रातोमा ओर्लिएको थियो ।
यद्यपि, सोमबार पनि रु. ३ अर्ब ४१ करोडको उच्च कारोबार भएको छ । ब्यांकिङ समूह ४ दशमलव ७४, उत्पादनमूलक समूह २३ दशमलव ३९ र अन्य समूह ९ दशमलव ०४ अंकले बढेका छन् ।
जलविद्युत, बिमा, लघुवित्त, होटल आदि समूह भने ओरालो लागे । सोमबारको कारोबारबाट सबैभन्दा धेरै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट ब्यांकका लगानीकर्ताले १० प्रतिशत कमाए ।
आइतबार उच्च गतिमा बढेको बजार स्थिरजस्तो देखिनु र उच्च रकमको कारोबार हुनुले लगानीकर्ताको मनोबल बढेको देखाएको छ ।