मलेशियाका प्रधानमन्त्री महाथिर मोहोम्मदद्वारा राजीनामा
मलेशियाका प्रधानमन्त्री महाथिर मोहोम्मदले राजीनामा दिएका छन् । महाथिरले सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहसमक्ष राजीनामा बुझाउदै नयाँ सरकार गठनका लागि बाटो खुला गरेको बताएका छन् ।
यसअघि १९८१ देखि २००३ सम्म लगातार प्रधानमन्त्री पदमा रहेका महाथिरले नाजिब रजकलाई हराएर २०१८ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
महाथिरले दुई प्याराग्राफ लामो विज्ञप्तिमा आफ्नो राजीनामाको कुनै कारण खुलाएका छैनन् ।
समाचारहरूका अनुसार महाथिरले आफ्नो स्वास्थ्य र उनको आफ्नै गठबन्धनलाई गरेको बाचा पूरा गर्नका लागि राजीनामा दिएका हुन् । उनले राजीनामा बुझाउनु पूर्व गठबन्धनकै अर्का शक्तिशाली नेता सेरी अनवार इब्राहिमसँग भेट गरेका थिए ।
सन् २०१८ को निर्वाचनमा महाथिरले उनलाई केही समयपछि कार्यकाल सुम्पिने सर्तमा गठबन्धन निर्माण गरेर चुनाव जितेका थिए ।