पञ्चायतमा झैं प्रमको जन्मदिनमा बिदा दिनु ‘गाउँपालिकाको अधिकार’
प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिन मनाउन पञ्चायत र शाहीकालमा झैं सरकारी बिदा दिएका तेह्रथुम आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू ‘बिदा दिनु गाउँपालिकाको अधिकार’ भएको बताउँछन् ।
“गाउँपालिका अन्तर्गतका कार्यालय बिदा दिनु हाम्रो अधिकार हो”, लिम्बू भन्छन् ।
प्रधानमन्त्रीको जन्मदिनको अवसरमा गाउँपालिका–४ इवास्थित प्रमको पुर्खौली घर परिसरमा आयोजित कार्यक्रम सफल बनाउन भन्दै गाउँपालिकाले सबै सरकारी कार्यालयमा बिदा दिएको थियो ।
“यो सामान्य कार्यक्रम होइन, स्थानीय धेरै खुसी भएका छन्, बाटोको टेण्डर भएको छ, चार सय वृद्धावृद्धाले लत्ताकपडा पाएका छन्, दुई हजार विद्यार्थीलाई शिक्षण सामग्री वितरण गरिएको छ”, लिम्बूले भने ।
दिउँसो २ बजेतिर इवा पुखेका प्रधानमन्त्री ५ बजेतिर त्यहाँबाट फर्केका थिए । प्रमसँगै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले बोलेका थिए ।
प्रधानमन्त्रीलाई स्वागत गर्न गाउँपालिका अध्यक्ष लिम्बूकै भनाइमा ९, १० हजार गाउँले ओर्लिएका थिए । प्रमको स्वागतमा स्वागतद्वारहरू बनाइनुका साथै विद्यार्थीहरूले विद्यालय पोशाकमै जन्मदिनको शुभकामनाको पाम्लेट बोकेका थिए ।
पञ्चायतकालमा राजाको जन्मोत्सवमा जस्तै गणतन्त्रमा प्रधानमन्त्रीको जन्मदिनमा बिदा किन दिनुभयो ? प्रश्नको जवाफमा भने गाउँपालिका अध्यक्ष लिम्बूले प्रमको गुणगान गाउन भनेर बिदा नदिएको बताए ।
“विद्यार्थीहरू जति जम्मै कार्यक्रममा आउने, सरकारी कर्मचारीलगायत सबैजसो कार्यक्रममै आउनुपर्ने भएकाले बिदा दिइएको हो, बिदा नदिएको भए पनि कार्यालय सञ्चालन हुने थिएनन् नै”, लिम्बूले भने ।