मुगुमा प्रसूति गृह संचालनमा
मुगुम कार्मारोङ्ग गाउँपालिका–५ पुलु बगरमा स्थापना गरिएको प्रसूति गृह पाँच वर्षपछि संचालनमा आएको छ।
२०७१ सालमा स्थापना भएको उक्त प्रसूति गृह गत बुधबार रातिदेखि संचालनमा आएको हो।
कार्मारोङ्ग गाउँपालिका अन्तर्गतका ५ र ६ नम्बर वडाका दाउर, सेरोग, पुअ, रिउँस र पुलु गाउँका स्थानीयहरूलाई मध्यनजर गरी निर्माण गरिएको उक्त प्रसूति गृह पाँच वर्षपछि मात्रै संचालनमा आएको हो।
बुधबार पहिलो पटक कार्मारोङ्ग–६ पुअ गाउँकी २० वर्षीया सोनाम डोल्मा लामालाई यस प्रसूति गृहबाट पहिलोपटक सुरक्षित सुत्केरी गराउन सफल भएको पुलु स्वास्थ्य चौकीकी अनमी रुचि बुढ्थापाले जानकारी गराइन्।
उनका अनुसार पर्याप्त सेवासुविधा नहुँदा निकै असहज अवस्थामा लामालाई सुत्केरी गराइएको हो।
प्रसूति गृह स्थापना भए पनि सेवा प्रवाह भने सुचारु नभएकाले स्थानीय गर्भवती महिलालाई स्वास्थ्य संस्थामा जाँच गर्न र सुत्केरी हुन आउनका लागि लामो समय परामर्श गर्नुपरेको बुढ्थापा बताउँछिन् । अबका दिनमा सुत्केरी सेवा चौबीसै घण्टा संचालनमा ल्याइने उनको भनाइ छ।
लामालाई सुत्केरी हुने समयभन्दा तीन दिन पहिले नै स्वास्थ्य संस्था बोलाइएको थियो। उनी र उनका आफन्तलाई लामो समय परामर्श गरेपछि मात्रै यस प्रसूति गृहमा सुत्केरी हुन राजी भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
घर नजिकैको स्वास्थ्य संस्थामै आफ्नी पत्नीलाई सुरक्षित सुत्केरी गराएको देखेर साह्रै खुशी लागेको बताउँछन्– डोल्माका पति लक्ष्मण लामा । उनी भन्छन्, “साह्रै चिन्ता लागेको थियो, मेरो परिवारलाई सजिलै सुत्केरी गराउँदा निकै हर्षित भएको छु,।”
अबका दिनमा गाउँटोलका आफन्त र छरछिमेकमा भएका गर्भवतीहरूलाई स्वास्थ्य चौकीमा सुत्केरी हुन जानका लागि सल्लाह दिने र प्रचार प्रसार गर्ने उनले बताए।
प्रसूति गृह संचालन हुँदा स्थानीय खुशी
जिल्लाको पूर्वी क्षेत्रमा रहेको पुलु प्रसूति गृहमा ५ वर्षपछि औपचारिक रूपमै सुत्केरी सेवा शुरु गरिएपछि स्थानीय खुशी भएका छन्।
लामो समयदेखि संचालन हुन नसकेको यस केन्द्रमा गत बुधबार राति ९ बजे सोनाम डोल्मा लामाले पहिलो सुत्केरी सेवा लिएसँगै औपचारिक रूपमा प्रसूति गृहमा सुत्केरी सेवा शुरु भएको छ।
अबका दिनमा स्थानीय गर्भवती महिलाको नियमित चेकजाँच गराइनुका साथै सुत्केरी सेवालाई समेत गुणस्तरीय बनाइने स्वास्थ्यकर्मीको भनाइ छ।
हाल यस गृहमा अहेव (छैटौं) १ जना, अहेव (पाचौं) १, अनमी १ र कार्यालय सहयोगी २ जना रहेका छन्।
अच्युत राज भण्डारी, मुगु