‘मर्यादित महिनावारी’ विषयक अन्तर्राष्ट्रिय कार्यशाला हुने
आगामी १३–१५ जेठसम्म ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला हुने भएको छ । ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ नारा राखिएको कार्यशाला महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दोस्रो राष्ट्रिय महिला अधिकार दिवस (१६ जेठ) को सन्दर्भ पारेर आयोजना गर्न लागेको हो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरेर सामाजिक कलंकको रुपमा रहेको छाउपडी प्रथाले नेपाललाई विश्वसामु लज्जित बनाएको भन्दै अब कुनै पनि बहानामा महिनावारीका कारण महिलामाथि विभेद हुने अवस्था आउन नदिने बताए ।
सुदूरपश्चिमको छाउपडी गोठ भत्काउने अभियानमा लागेको सरकारले मर्यादित महिनावारीकै विषयमा पहिलो पटक यस्तो कार्यशाला गर्न लागेको हो ।
मन्त्री गुरुङले भने, “अब नेपाल छाउपडी गोठको देश नभई मर्यादित महिनावारीको देश हो भन्ने बारेमा अन्तर्राष्ट्रिय स्तरमा सन्देश पु¥याउन पनि यो कार्यशालाको आवश्यकता ठानिएको हो ।”
कार्यक्रममा सबै महादेशबाट गरी करिब ३० देशका सरकारी प्रतिनिधिसँगै यस विषयमा कार्यरत अभियन्ता तथा अनुसन्धानकर्मीहरुको सहभागिता हुनेछ ।
राष्ट्रिय मानवअधिकार आयोग र राधा पौडेल फाउन्डेसनसँगको सहकार्यमा यो कार्यशाला हुन लागेको हो ।
पत्रकार सम्मेलनमा फाउन्डेसनकी प्रमुख एवं मदन पुरस्कार विजेता राधा पौडेलले महिनावारी महिलाहरुको नीजि सवाल नभई राजनीतिक र मानव अधिकारको सवाल भएकाले यस विषयमा सबैले हातेमालो गर्नुपर्ने बताइन् ।
उनले भनिन्, “अझैँ पनि महिनावारी भएकै कारण घरको भान्सादेखि मन्दिरमा समेत बन्देज लगाउने चलन छ । यस्तो कुरीति र अन्धविश्वास अन्त्य गर्न यस खालको अभियानलाई व्यापक बनाउनु पर्छ ।”