कर्णालीमा एकसय शय्याको ट्रमा अस्पताल निर्माण गर्ने सम्झाैता
मध्यपहाडी राजमार्ग र कर्णाली राजमार्ग जोडिएको राकमकर्णाली बजारमा १ सय शय्याको ट्रमा अस्पताल निर्माण गरिने भएको छ।
दैलेखको आठबिस नगरपालिका–१ स्थित मेगासिटी शहरको विस्तार गर्न लागिएको राकमकर्णाली बजारमा १ सय शय्याको ट्रमा अस्पताल निर्माणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबिस नगरपालिका बीच शनिबार सम्झौता भएको हो।
राजमार्गमा ट्रमा सेन्टरको अस्पताल निर्माणका लागि नगरपालिका र प्रतिष्ठानबीच समन्वय तथा सहकार्य गरी अस्पताल निर्माणका लागि १३ वटा शर्तसहित सम्झौता गरिएको आठबिस नगरपालिकाका उपप्रमुख दीपा बोहराले जानकारी दिइन् ।
उनले भनिन्, “नगरपालिका र कर्णाली स्वास्थ्य प्रतिष्ठानबीच अस्पताल निर्माण र सञ्चालन गर्न दुई पक्षबीच शर्तहरूको पालना गर्नुपर्ने गरी सम्झौता गरेका छौं ।”
सो सम्झौतामा नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्याय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईले हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा निर्माण र संचालनका लागि दुई पक्षले आपसी सहकार्य गर्ने, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी अस्पताल निर्माण र सञ्चालन गर्ने, सर्वसुलभ विशेषज्ञ सेवाहरू उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता भएको नगर–प्रमुख खड्गराज उपाध्यायले जानकारी दिए ।
यस्तै तत्कालका लागि ‘एक्सरे मेसिन, ल्याब, लगायत सामग्रीहरू र डाक्टरहरूको सुविधाको व्यवस्था नगरपालिकाले गर्ने र प्रतिष्ठानले डाक्टर र पारिश्रमिक व्यवस्था गर्ने सम्झौता पत्रमा समझदारी गरिएको छ । अस्पताल निर्माणका लागि मापदण्ड अनुसारकोे राकम कर्णालीबजारमै १ सय पाँच रोपनी सार्वजनिक जग्गा पास गरिसकेको नगरपालिकाले जनाएको छ ।
अस्पताल निर्माणका लागि डीपीआर र लागतको इष्टमेट नेपाल सरकार नयाँशहर आयोजनाले गर्ने बुझिएको छ । अस्पताल निर्माण भई सञ्चालनमा आएपछि अछाम, दैलेख, कालिकोट, जुम्ला र मुगु जिल्लाका नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
विगतदेखि मृत्युमार्गका रूपमा चिनिएको कर्णाली राजमार्गमा सुविधा सम्पन्न अस्पताल नहुँदा सडक दुर्घटना भए पश्चात धेरैजसोले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्थालाई कम गर्न धेरै वर्षदेखिको पहल अहिले पूरा हुन लागेको छ ।
मध्यपहाडी लोकमार्गका १० वटा मिगासिटीमध्ये दैलेखको आठबिस नगरपालिकामा पर्ने राकमकर्णाली पनि एक शहरका रूपमा प्रस्तावित गरिएको छ ।
यज्ञराज थापा, दैलेख