गोकुल बाँस्कोटाको अडियो प्रकरणमा छानविन हुन्छ : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको अडियो प्रकरणमाथि सरकारले छानविन गर्ने बताएका छन् । गृहमन्त्रीले आइतबार बिहान हेटौंडामा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सञ्चारकर्मीसँग कुरा गर्दै यस विषयमा सरकारले छानविन गर्ने बताएका हुन् ।
सेक्युरिटी प्रेससँग जोडिएको विषय भएकाले सरकारले यसमा छानविन गर्ने उनको तर्क थियो । "यस प्रकरणमा सञ्चारमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको छ, यो प्रकरणको सरकारले छनविन गरेर समाधान गर्छ" उनले भने ।
साथै उनले एससीसीबारे नेकपाले बनाएको कार्यदलले दिएको सुझावको आधारमा निर्णय लिइने बताए । त्यस्तै भारतसँगै सीमा जोडिएको कालापानी क्षेत्रको सन्दर्भमा भारतले प्रकाशित गरेको नक्साबारे सरकारले कुटनीतिक ढंगले समस्या सामाधान गर्ने थापाले बताए ।
अन्तराष्ट्रिय तथ्यांकमा देशको सुरक्षा स्थिति पहिलेको भन्दा सुधार भएको दावी गर्दै उनले समृद्धि र विकासका लागि सरकारले धेरै राम्रा काम थालेको बताए ।
"गत वर्ष ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि भएकाले देश विकासको गतिमा रहेको देखिन्छ, ७ प्रतिशत भन्दामाथि आर्थिक विकास भएको देश संसारमा कमै मात्र रहेको छ," उनले भने ।
बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा भइरहेको गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा 'बादल'का सल्लाहकार सूर्य सुवेदी, प्रा.डा इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका युद्ध कार्यका महानिर्देशक उपरथी राजेन्द्र कार्की, बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख लगायतको सहभागिता छ ।
शनिबारदेखि सुरु भएको गोष्ठी आइतबार १३ जिल्लाकै सुरक्षा अधिकारीले जिल्लागत अवस्थाबारे जानकारी दिएपछि सकिनेछ ।