लेभान्टेसँग रियल मड्रिड पराजित हुँदा बार्सिलोनालाई फाइदा
स्पेनिस ला लिगामा उपाधि प्रतिश्पर्धामा रहेको रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ ।
शनिबार राति सकिएको खेलमा लेभान्टेसँग रियल एक–शून्य गोल अन्तरले पराजित हुन पुग्यो । खेल अवधिभर हाबी भएको रियल विरुद्ध लेभान्टेका जोस लुइस मोरालेसले निर्णायक गोल गरे ।
पहिलो हाफ गोल रहित बराबरी सकिएको थियो । दोस्रो हाफको ७९औं मिनेटमा लेभान्टेका मोरालेसले गोल गरे । लेभान्टेले यही अग्रता कायम राख्दा रियल पराजित हुन पुग्यो ।
रियल पराजित हुँदाको फाइदा भने बार्सिलोनालाई भएको छ । एइबर विरुद्ध ५–० गोल अन्तरको शानदार जित निकालेको बार्सिलोनाले रियललाई पछाडि पार्दै शीर्ष स्थानमा उक्लिएको थियो ।
तर, रियल पराजित हुँदा बार्सिलोना समान २५ खेलमा दुई अंकको फरकले शीर्ष स्थानमा रहेको छ । रियलले भने २५ खेलबाट ५३ अंकमा सीमित रहेको छ ।