संशोधन सहित एमसीसी पारित गर्न नेकपामा सहमति
अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन सहित पारित गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा सहमति जुटेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमसीसी परिमार्जन गरेर मात्रै पारित गर्न सहमति जुटेको हो । १९ माघमा सकिएको नेकपा केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।
बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको थियो । सचिवालयमा बुझाइएको प्रतिवेदनमाथि शनिबार छलफल भएको हो ।
बैठकको शुरुमा कार्यदलका संयोजक खनालले कार्यदलबारे ब्रिफिङ गरेका थिए । ब्रिफिङ सुनेपछि सचिवालयका नेताहरु परिमार्जन सहित पारित गर्न सहमत भएका हुन् । तर, सचिवालयले निर्णय भने गरेको छैन ।
सचिवालयका नेताहरुले कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरेर केही दिनभित्रै एमसीसी संशोधन सहित पारित गर्ने निर्णय हुने भएको छ । एमसीसीबारे विवाद भएपछि खनालको संयोजकत्वमा भीम रावल र प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन भएको थियो । कार्यदललाई दश दिनको समय दिइएपनि पनि थप दश दिन पछाडि मात्रै प्रतिवेदन बुझाइएको थियो ।