एमसीसी सम्झौताका बुँदा नसच्याई अनुमोदन नगर्न कार्यदलको सुझाव
मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे अध्ययन गर्न नेकपा केन्द्रीय समितिद्वारा गठित अध्ययन कार्यदलले सम्झौताका केही बुँदा नसच्याई अनुमोदन नगर्न पार्टीलाई सुझाएको छ।
कार्यदलले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो।
कार्यदलका संयोजक पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्झौतामा रहेका धेरै विषय सच्याउन सिफारिस गरिएको बताए।
“हामीले सुझावसहितको प्रतिवेदन अध्यक्षलाई बुझाएका छौँ। एमसीसीमा सच्याउनुपर्ने धेरै विषय रहेकाले तिनलाई सच्याएर मात्रै संसदबाट अनुमोदन गर्न सुझाव दिएका छौँ,” खनालले भने।
“थुप्रै गम्भीर विषय देखिए, हामीले सर्वसम्मतिले सच्याएर मात्रै एमसीसी पारित गर्न सिफारिस गरेका छौँ,” खनालले भने, “अध्यक्षद्वयले अध्ययन गरेपछि यो प्रतिवेदन सार्वजनिक हुन्छ । यो सर्वसम्मत निष्कर्ष हो ।”
खनालले एमसीसी सम्झौता सम्बन्धी डकुमेन्टहरूको अध्ययन गर्दा अहिलेसम्म सार्वजनिक नभएका अरु पनि १४\१५ वटा सहायक सम्झौताहरू फेला परेको बताएका छन् ।