नेपाली सेनाले मनायो सेना दिवस
नेपाली सेनाले ‘महाशिवरात्रि तथा सेना दिवस–२०७६’ यसपालि पनि परम्परालाई कायम राख्दै मनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक विशेष कार्यक्रममा नेपाली सेनाले सेना दिवस मनाएको हो । राष्ट्रपति नेपाली सेनाका परमाधिपति रहने व्यवस्था छ।
टुँडिखेल स्थित सैनिक मञ्चमा आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा ‘महाशिवरात्रि तथा सेना दिवस– २०७६’ अंकित व्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिएको थियो।
कार्यक्रममा षट्कोण फर्मेशन तथा नेपालको राष्ट्रिय झण्डाको आकृति समेत निर्माण गरी राइफल र तोपबाट महाशिवरात्रिको बढाइँ गरिएको थियो।
यसैगरी सैनिक युद्धकला, शहरी इलाकामा ठूला र अग्ला भवनमा हुने आगलागीको बेला हुने उद्धार सम्बन्धी विशेष कलाको प्रयोग गरी उद्धार, मार्चपास, खुकुरी नृत्य, विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्न हातहतियार, भेहिकल तथा उपकरणको प्रदर्शन गरिएको थियो।
उक्त कार्यक्रममा विभिन्न पुरस्कार, निशान, ट्रफी तथा दज्यानी चिन्ह प्रदान गरिएको थियो।
कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधान एवं रक्षामन्त्री, मन्त्रिगण, विभिन्न संवैधानिक निकायका प्रमुख, बेलायती सेनाका सेनाध्यक्ष, विभिन्न निकायका प्रमुख, विदेशी राजदूत र कूटनीतिक प्रमुख, सर्वसाधारण लगायतको उपस्थिति थियो।