कालीगण्डकी जलविद्युत् गृह बन्द
नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट क्षमताको कालीगण्डकी ए जलविद्युत् गृहको विद्युत् उत्पादन बिहीबार रातिदेखि बन्द भएको छ । विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि मर्मत गर्न चार दिनका लागि बन्द गरिएको हो ।
दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको यो अर्धजलाशययुक्त आयोजना सोमबार साँझ पाँच बजेसम्म बन्द रहने छ । स्याङ्जाको मिर्मीमा रहेको विद्युतगृहमा ४८-४८ मेगावाटका तीन युनिट छन् ।
एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको हो । केन्द्रबाट उत्पादित विद्युत् पोखरा र बुटवलतर्फ प्रवाह गरिन्छ ।
मुलुककै ठूलो विद्युतगृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिम भेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
घिसिङका अनुसार विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको विदालाई ध्यान दिएर मर्मत सुरु गरिएको हो । ‘विदाको दिन विद्युत्को माग कम हुने भएकाले विदाको दिन पारेर मर्मत गर्दैछौं ।
खोला तथा नदीमा पानीको बहाव बढेकाले अन्य विद्युतगृहबाट पनि विद्युत् उत्पादन केही बढेको छ । आम उपभोक्तालाई विद्युत् आपूर्तिमा समस्या नहुने गरी आवश्यक बन्दोवस्ती गरिएको भएपनि बुटवल, भैरहवा क्षेत्रका औद्योगिक ग्राहकको पिकको समयमा विद्युत् कटौती हुनसक्ने प्राधिकरणले भनाइ छ । विद्युत गृह बन्द गरेर २४ सै घण्टा काम गर्न ३७ जना प्रविधिक खटाइको छ ।