अख्तियार, सीआईबी, संसद र पार्टीबाट छानबिन हुनुपर्छः बाँस्कोटा
सूचना, प्रविधि तथा सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा छानबिन गरी सत्यतथ्य स्पष्ट गर्नुपर्ने बताएका छन् ।
साँझ निवासमै भेट्न आएका आफन्तसँग बाँस्कोटाले यसबारे छानबिन गरी स्पष्ट हुनुपर्ने बताएका हुन् ।
उनले भने, “जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला असत्य होला, एनिमेसन होला, केके होला, सात वटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो । जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले उसमा अप्ठ्यारो मान्नु हुँदैन, ढ्याक्क राजीनामा दिने हो ।”
बाँस्कोटाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताए । यो प्रकरणमा अख्तियार, सीआईबी, संसद र पार्टीले छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा स्वीसका नेपाल एजेन्ट विजयप्रकाश मिश्रसँग कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । बाँस्कोटा सरकारको प्रवक्तासँगै सहरी विकास मन्त्रालयको जिम्मेवारीमा समेत थिए ।
उनको राजीनामा स्वीकृत भए लगत्तै अर्थमन्त्री युवराज खतिवडालाई सञ्चार र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।