डा. शम्भु आचार्य डब्लूएचओ मुख्यालयको उच्च पदमा पुग्ने पहिलो नेपाली
डा. शम्भु आचार्य विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मुख्यालयको उच्च पदमा पुग्ने पहिलो नेपाली बनेका छन्।
डब्लूएचओले १९ फेब्रुअरीमा आचार्यलाई संगठनको मुख्यालय जेनेभास्थित कार्यालयको कन्ट्री स्ट्राटजी एन्ड सपोर्ट विभागको निर्देशकमा नियुक्त गरेको छ।
अहिलेसम्म कुनै पनि नेपाली डब्लूएचओ मुख्यालयको उच्चस्तर मानिएको यो पदमा पुग्न सकेका थिएनन्। उक्त विभाग डब्लूएचओका महासचिवको कार्यालय अन्तर्गत पर्छ।
डा आचार्यले डब्लूएचओका महासचिव ट्रेडोसको सुपरिवेक्षणमा रहेर काम गर्नेछन् । डब्लूएचओका बहुक्षेत्रीय कार्यक्रमका लागि रणनीतिक दिशा र भिजन दिने काम गर्नका लागि उनलाई उक्त पद दिइएको हो । उनले डब्लूएचओका अन्य उच्च अधिकारीहरुसँग विश्वस्तरका डायलगहरुमा समेत सहभागिता जनाउनु पर्नेछ।
डा. आचार्यले संगठनको व्यवस्थापनलाई उच्चस्तरीय सल्लाह सुझाव दिनुका साथै दिशानिर्देश पनि गर्नुपर्ने हुन्छ । डा. आचार्यले यसअघि सन् १९९९ देखि स्वास्थ्य संगठनको उच्च तहमा रही काम गरिसकेका छन् ।
नियुक्त भइसकेपछि हिमालखबरसँग कुरा गर्दै डा. आचार्यले नेपाली भएर डब्लूएचओको उच्च पदमा पुगेर काम गर्न पाउनु गौरवको कुरा भएको बताएका छन् । उनले आफू मुलुकको स्वास्थ्य क्षेत्र सुधारका लागि चाहिने सुझावसल्लाह दिन सधैभर तयार रहेको बताएका छन् ।
“अझै पनि नेपालका गाउँगाउँमा औषधि र डाक्टर पुग्न सकेका छैनन्”, उनले भने, “यस्तो अवस्थालाई अन्त्य गर्न डब्लूएचओमा रहेर मेरो तर्फबाट सरकारलाई चाहिने सुझाव सल्लाह दिन तयार छु ।”
परिवार नियोजन संघदेखि डब्लूएचओसम्म
गिलिङ्स स्कूल अफ ग्लोबल पब्लिक हेल्थ युनिभर्सिटी अफ नोर्थ क्यारोलिना अमेरिकाबाट स्वास्थ्य नीति तथा व्यवस्थापन विषयमा विद्यावारिधि गरेका आचार्यले विश्व ब्याङ्कको वासिङ्गटनस्थित कार्यालय र बाङ्लादेशको ढाकामा परामर्शदाताका रुपमा काम गरिसकेका छन् ।
डा. आचार्यले जनस्वास्थ्य आफ्नो करिअर नेपालबाट शुरु गरेका हुन् । उनले परिवार नियोजन संघ नेपालको फिल्ड डिभिजनको निर्देशकको रुपमा रहेर काम गरे । उनले संघमा साढे दुई वर्षसम्म काम गरेका थिए ।
संघमा काम गरिरहँदा उनलाई यति ठूलो पदमा पुग्छु भन्ने लागेको थिएन । तर, सानैदेखि अरु भन्दा फरक काम गर्ने चाहना राख्ने आचार्य बढी महत्वाकांक्षी स्वभावका थिए । यही महत्वाकांक्षाका कारण पनि उनलाई डब्लूएचओको उच्च तहमा पुग्न सहयोग गर्यो ।
आचार्यले सार्वजनिक स्वास्थ्यका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा रहेर विगत ३० वर्षदेखि काम गरेको अनुभव सँगालेका छन् । उनले स्वास्थ्य नीति र वित्त पोषण, रणनीति विकास, नीति संवाद, प्राविधिक सल्लाह र विभिन्न देश तथा डब्लूएचओको कार्यालयका लागि कार्यक्रम व्यवस्थापनको क्षेत्रमा रहेर काम गरेका छन् ।
पछिल्ला वर्षहरुमा उनले विश्व स्वास्थ्य संगठनका विभिन्न देशस्थित कार्यालयको व्यवस्थापन सबल बनाउन, क्षेत्रीय र देश तहमा सहकार्य गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।
संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव वान कि मुनले १ नोभेम्बर २०१६ मा उनलाई यूएन सिस्टम स्टाफ कलेजको बोर्ड सदस्यका रुपमा दुई वर्षका लागि मनोनीत गरेका थिए । उनको कार्य क्षमतालाई कदर गर्दै महासचिव एन्टोनियो गुटेरसले उनको कार्यकाल ३१ अक्टोबर २०१९ सम्मका लागि बढाएका थिए । यसलाई अपवादकै रुपमा लिइन्छ ।
डा. आचार्यका स्वास्थ्य नीति र पद्धति विकास एवं अन्य सार्वजनिक स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अनुसन्धानमूलक लेखहरु प्रकाशित छन् । पाल्पाको भुटुकामा जन्मिएका आचार्यले ३३ वर्ष पहिले देश छाडेका थिए । उनका बाबुआमा काठमाडौं वसुन्धारामा बस्दै आएका छन् ।