कसैलाई भ्रष्टाचार गर्न सत्तामा पुर्याइएको होइन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरोस् भनेर कसैलाई सत्तामा स्थान नदिइएको बताएका छन् । स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार नहेर्ने भन्दै उनले कसैलाई भ्रष्टाचार गर्ने छुट नभएको बताएका हुन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन गर्दै प्रधानमन्त्री ओलीले सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि आफू पछि नपर्ने बताए ।
जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पुर्याउनुको अर्थ लुट गरोस् भनेर नभएको भन्दै ओलीले भने, "कसैलाई रुलिङ पोजिसनमा पुर्याउनुको अर्थ लुटिङ फ्यासलिटी प्राप्त भयो भनिएको होइन् ।"
उनले अहिले विकासका लागि उपयुक्त समय र वातावरण भएकाले कसैलाई पनि लुटको सुविधा नभएको बताए ।
प्रधानमन्त्री ओलीले लामो समय शासन गर्न खोज्दा परिणाम राम्रो नहुने भन्दै आफूलाई पदको चिन्ता नभएको बताए । उनले आफू प्रधानमन्त्री भएकावेला सिस्टम बसाउन खोजेको बताए ।