अब महिला मुख्यमन्त्री हुनुपर्छ: नेता नेपाल
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा गणतन्त्र स्थापना भएपछि महिलाहरू वडा सदस्यदेखि वडाध्यक्ष, उपप्रमुख, मेयर, प्रदेश प्रमुख तथा राष्ट्रपतिसम्म भएको उल्लेख गर्दै अब मुख्यमन्त्री बन्न बाँकी रहेको बताएका छन् ।
वर्तमान शासन प्रणालीले महिलालाई सम्मान तथा स्वाभिमानसमेत दिएको बताउँदै नेता नेपालले अझै पनि हरेक तहमा महिलाहरूको समान प्रतिनिधित्वका लागि सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन् ।
महिलालाई अझै पनि सशक्त बनाउन सकेमा नेपाल पनि विकसित देशको दाँजोमा पुग्न सक्ने विश्वास पनि नेता नेपालले व्यक्त गरेका छन् ।
गृहनगर रौतहटको गौरमा राजदेवी मिडिया सेन्टरद्वारा आयोजित आठौं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगिताको उद्घाटन गर्दै नेता नेपालले महिलालाई समानता र सशक्तीकरणको दिशामा अझ बलियो बनाउन छोरीलाई कम्तिमा स्नातकसम्म पढाउन सुझाव दिएका छन् ।
नेता नेपालले आफू रक्षामन्त्री हुँदा २०५१ सालमा महिलालाई नेपाली सेनामा प्रवेशको कार्ययोजना लागू गरेको स्मरण गर्दै आफू महिला सशक्तीकरणको पक्षमा सदैव लागिरहेको पनि स्पष्ट पारेका छन् ।
वर्तमान संविधानको निर्माणमा आफ्नो पनि भूमिका रहेको स्पष्ट पार्दै नेता नेपालले महिलालाई सशक्त बनाउन संविधानले निकै राम्रा प्रावधानहरू राखेको बताए । नेता नेपालले संविधानमा कमीकमजोरी भए सुधार्न सकिने पनि बताएका छन् ।
सञ्जय मित्र, रौतहट