ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. सन्तोष पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहिबार पौडेललाई निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।
यसअघि पौडेल ट्रमा सेन्टरका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ थिए । नियुक्त गर्ने निर्णय गरेकै दिन उनले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण लगत्तै डा. पौडेलले विपन्न नागरिकको औषधि उपचार सेवा लिने बिरामीलाई हेड र स्पाइनल इन्जुरीको शल्यक्रियामा आवश्यक पर्ने प्रत्यारोपण र औषधिजन्य सामग्री ट्रमा सेन्टरको सामाजिक सेवा इकाईमार्फत निःशुल्क प्रदान गर्ने व्यवस्था मिलाउने पहिलो निर्णय गरेका छन् ।
त्यसको सोधभर्ना स्वास्थ्य सेवा विभागमार्फत गर्ने प्रक्रिया अघि बढेको उनले बताएका छन् । यसअघि ट्रमा सेन्टरको फार्मेसीमा प्रत्यारोपण लगायतका औषधिजन्य सामग्री नराख्ने व्यवस्था गरेका कारण विपन्न नागरिकले महङ्गो मुल्यमा व्यापारीसँग औषधीजन्य सामग्री खरिद गर्नुपर्ने बाध्यता थियो ।
यसअघि प्रधानमन्त्री कार्यालयले ट्रमा सेन्टरभित्र प्रत्यारोपणका साम्रगी उपलब्ध नगराउँदा बिरामीले व्यापारीसँग चर्को मुल्यमा खरिद गर्नु परेको र यस्तो काममा चिकित्सकहरुको मिलेमतो भएको भन्दै छानबिन समिति गठन गर्न निर्देशन दिएको थियो ।
हिमालमा ‘ट्रमा सेन्टरः फस्टाउँदो चिकित्सक–सप्लायर्स नेक्सस’ शीर्षकको समाचार छापिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो देखाएको थियो ।
हिमालको १९–२५ जेठ २०७६ को अङ्कमा राष्ट्रिय ट्रमा सेन्टर मार्फत प्रत्यारोपण सामग्री (इम्प्लान्ट डिभाइस) को अपारदर्शी व्यापार हुने गरेको खुलासा भएको थियो । यसपछि प्रधानमन्त्री कार्यालयले ४ असारमा सचिवस्तरीय निर्णय गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग ‘सत्य–तथ्य यथार्थ विवरण’ सोध्ने निर्णय गर्दै पत्राचार गरेको थियो ।