स्वास्थ्य मन्त्रालयले गर्यो विभिन्न निकायको जिम्मेवारी हेरफेर
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यका विभिन्न निकायको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिसिडि)को निर्देशकको जिम्मेबारी दिइएको छ ।
इडिसिडिका निर्देशकलाई मन्त्रालयले राष्ट्रिय क्षय रोग केन्द्रमा सरुवा गरेको छ । यस्तै, क्षय रोग केन्द्रका डा. सागरराज भण्डारीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य मन्त्रालयले कान्ती बाल अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल, मन्त्रालयको नीति योजना तथा अनुगमन मशासाखाको प्रमुखमा डा. गुणराज लोहनी र मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा. विकास देवकोटालाई नियुक्त गरेको छ ।
भेरी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा र कोशी प्रादेशिक अस्पतालको मेसुमा डा. चुमनलाल दासलाई नियुक्त गर्ने निर्णय भएको छ । स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका महेन्द्र श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त गरिएको छ ।