प्रहरी सरकारको अनुहार हो: गृहसचिव
गृहसचिव महेश्वर न्यौपानेले प्रहरीले नागरिकलाई गर्ने व्यवहार र उनीहरुप्रतिको प्रतिक्रियाले सरकारको प्रतिबिम्ब प्रस्तुत गर्ने भएकाले सचेत र सजग रहन निर्देशन दिएका छन्। उनले प्रहरीको व्यवहार, काम गर्ने शैली, सेवाग्राहीलाई सम्बोधन गर्ने तरिका थप मर्यादित, सभ्य र सुसंस्कृत बनाउन निर्देशन दिएका हुन्।
प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा सचिव न्यौपानेले संगठनको नीति विपरीत कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई कानूनी दायरामा ल्याउन मन्त्रालय सक्रिय रहेको बताएका थिए। सचिव नियुक्त भएपछि पहिलो पटक बिहीबार न्यौपानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका हुन्।
गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर लगायतको निरीक्षण गर्नुका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई भिडियो कन्फ्रेन्सद्वारा सम्बोधन गर्दै शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिएका थिए।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल सरकारको दीर्घकालीन लक्ष्य ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई सफल बनाउन नेपाल प्रहरी अझ क्रियाशील, निर्भिक र कर्तव्य पालनामा समर्पित रहेको उल्लेख गर्दै प्रहरी संगठनलाई उत्कृष्ट संस्थाका रुपमा स्थापित गर्न प्रतिबद्ध रहेको बबताएका थिए।
उनले प्रहरीको कार्यशैली, निष्पक्षता र व्यावसायिकताले राज्यको शान्ति सुव्यवस्था र कानून कार्यान्वयनको अवस्था प्रतिबिम्बित गर्ने भएकाले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गर्ने संगठन सक्रिय रहने बताएका थिए।