क्यासिनो रोयल बन्द गरिदिन मन्त्रालयलाई याक एण्ड यतीको आग्रह, मन्त्रालयले काट्यो पत्र
दरबारमार्गको याक एण्ड यती होटलमा सञ्चालन भइरहेको क्यासिनो रोयल बन्द गरिदिन होटलले सरकारी निकायसमक्ष निवेदन पेश गरेको छ । पुरानो व्यवस्थापनले क्यासिनो बेचेको तर आफूसँग कुनै सम्झौता नगरेकाले रोयल क्यासिनो बन्द गरिदिन भन्दै होटलले पर्यटन मन्त्रालयमसक्ष निवेदन पेश गरेको हो ।
यस अघि होटलसँग सुरेन्द्रबहादुर सिंह सञ्चालक रहेको गिल्ट इनभेष्टमेन्ट प्रालिलाई १० वर्षे सम्झौता गरेर क्यासिनो सञ्चालन गरिरहेको थियो । त्यो पुरानो सम्झौता यही ६ फेब्रअरीबाट सकिएको र नयाँ क्यासिनो सञ्चालकले सम्झौता नै नगरी सञ्चालन गरिरहेको होटल व्यवस्थापनको भनाइ छ ।
क्यासिनोको नयाँ व्यवस्थापनले होटललाई भाडासमेत नदिएको र सम्झौता नहुँदा अवैधानिक भएको दाबी होटलको छ । यो क्यासिनो सरकारले २०७० मा जारी गरेको क्यासिनो नियमावली विपरित चलिरहेको होटलले मन्त्रालयसमक्ष दिएको निवेदनमा उल्लेख छ ।
होटलमा सञ्चालन क्यासिनो रोयलले गत मंसिरसम्ममा सरकारलाई १९ करोड ३८ लाख रुपैयाँ बुझाउन बाँकी थियो । यो क्यासिनोले १५ फागुन २०७२ मा सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर मात्रै संचालन गरिरहेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ बैशाख २०७१ पछि क्यासिनो नियमावली पालना नगर्ने सबै क्यासिनो बन्द गराएको थियो । सरकारको सो निर्णयविरुद्ध अदालत गएको यो क्यासिनोले मुद्दाको अन्तिम टुङ्गो नलागे निवेदकको माग अनुसार क्यासिनो चल्न दिनुपर्ने आदेश पाएको थियो ।
सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१(१) बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश पाएको यो क्यासिनोले सरकारी नियवाली पालना नगरेको, सरकारलाई तिर्नुपर्ने कुनै पनि प्रकारको कर तथा रोयल्टी नतिरेको तथा कुनै समझदारी पनि नभएको हुँदा बन्द गरिदिन होटल याक एन्ड यतिले माग गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले क्यािसनो बन्द गर्नका लागि व्यवस्थापनलाई बुधबार नै पत्र पठाएको जनाएको छ ।
क्यासिनोले सुरेन्द्रबहहादुर सिंहको नाममा इजाजत लिएको भएपनि अहिले जयन्ती थापाको नाममा सञ्चालन भइरहेको छ । थापाको व्यवस्थापनमा आएको पर्यटन मन्त्रालयलाई कुनै जानकारी छैन् ।
यो क्यासिनोले होटलले अर्को नयाँ व्यवस्थापक भित्र्याउन खोजेर सम्झौता गर्न नमानेको दाबी गरेको छ । क्यासिनोका एक कर्मचारी शुक्रबहादुर कोसवारका अनुसार होटलसमक्ष अहिलेकै क्यासिनोसँग सहमति गर्न माग गरिएको तर व्यवस्थापले नमानेर विवाद गरिरहेको छ ।
होटलले भने क्यासिनो नियमावली पालना गरी क्यासिनो चलेको र होटलसँग कुनै सम्झौता नभएका कराण अवैधानिक रूपमा चलेको क्यासिनो बन्द गर्न माग गरिएको बताएको छ ।