डा. कोइराला नेतृत्वको बाल अस्पताललाई एक करोड रकम सहयोग
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण हुन लागेको बाल रोगको विशेष उपचार हुने काठमाण्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थको आईसीयू बनाउन एक करोड सहयोग भएको छ।
बैंक अफ काठमाण्डुले आफ्नो २५औँ वर्षको उपलक्ष्य पारेर डा. कोइराला अध्यक्ष रहेको अस्पताललाई एक करोड सहयोग गर्ने घोषणा गरेको हो। बैंकले बुधबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले एक करोडको चेक डा. कोइरालालाई हस्तान्तरण गरेका छन्।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोभन देव पन्तले संस्थागत सामाजिक उत्तरदायित्व अभियान(सिएसआर) अन्तर्गत बाल अस्पताल निर्माणका लागि आर्थिक रकम सहयोग गरेको बताए।
उक्त कार्यक्रममा बोल्दै डा. भगवान कोइरालाले बाल अस्पताल निर्माण गर्न अहिलेसम्मकै ठूलो रकम सहयोग स्वरुप पाएको बताए।
“अस्पताललाई सहयोग गरेर सामाजिक उत्तरदायित्वको अभियानमा काम हुनु एकदमै सकारात्मक कदम हो,” डा. कोइरालाले भने, “बैंकको सहयोगले अस्पताल बनाउने अभियान एकस्तर माथि उठेको छ।” यसअघि ६ साउनमा बसेको मन्त्रीपरिषद् बैठकले बाल अस्पताल निर्माणका लागि सरकारको नाममा रहेको काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ को ४१ रोपनी १० आना सरकारी जग्गा भाडामा दिने निर्णय गरेको थियो।
डा. कोइरालाका अनुसार मुलुकमा एउटै छानामुनि बालरोग विशेषज्ञ सहितको सेवा सुविधा सम्पन्न अस्पताल नभएको र भएको कान्ति बाल अस्पतालमार्फत पर्याप्त सेवा दिन नसकेकाले नयाँ अस्पताल स्थापना गर्न लागिएको हो।
गैरसरकारी र गैरनाफामूलक अस्पतालमा गरीबलाई निःशुल्क र अन्यलाई सरकारी शुल्क र क्याबिनको सुविधा सहितको सेवा दिने व्यवस्था मिलाइएको छ।
क्याबिनको सेवा लिन चाहनेहरुका लागि निजी अस्पताल सरह शुल्क लिइने व्यवस्था मिलाइको छ। उनले बाल अस्पतालमार्फत मुलुकभित्रै अन्तर्राष्ट्रिय स्तरको सेवा दिन लागिएकाले यो महत्वपूर्ण कदम भएको बताए।
एक सय शैया क्षमताको बाल अस्पतालमा पहिलो चरणमा जनरल पेडियाट्रिक, आईसीयू, कार्डियोथोरासिक, साइकियाट्रिक र क्यान्सर रोग सम्बन्धी उपचार हुने बताइएको छ। अस्पताल सञ्चालनका लागि जग्गा बाहेक झण्डै डेढ अर्ब रुपैयाँको लगानी छ।
पहिलो चरणमा काठमाडौंमा स्थापना गरिने अस्पतालको सेवा सात वटै प्रदेशमा विस्तार गर्ने संस्थाको लक्ष्य छ। सन् २०२० को मार्चदेखि निर्माणको काम शुरु हुने र सन् २०२२ सम्ममा अस्पताल सञ्चालनमा आउने बताइएको छ।
‘पब्लिक सर्भिस’ मोडलमा स्थापना हुन लागेको इन्ष्टिच्युटको सञ्चालक समितिमा करुणा फाउन्डेसनका निर्देशक दीपक सापकोटा, पत्रकार गोविन्द अधिकारी, बुद्ध एअरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत, शहीद गंगालाल हृदयरोग अस्पतालका कार्यकारी निर्देशक डा.ज्योतिन्द्र शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र सानिमा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल छन्।