सहिद स्मारक ‘बी’ डिभिजन लिगको खेल तालिका सार्वजनिक
अखिल नेपाल फुटबल संघ (एन्फा)ले व्यावसायिक फुटबलको दोस्रो श्रेणी सहिद स्मारक ‘बी’ डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ। बुधबार एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार दोस्रो डिभिजनको फुटबल ११ फागुन आइतबारबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएर चैत २३ गतेसम्म चल्नेछ।
लिगमा १२ टोलीको सहभागितामा हुनेछ भने सबै ६६ खेल एन्फा कम्प्लेक्समै हुने एन्फाले जनाएको छ। प्रतियोगितामा राउन्ड रोबिन पद्दतिअनुसार सबैले एक-अर्काको सामना गर्ने गरि खेलाइने बताइएको छ। खेल तालिकाअनुसार आइतबार पहिलो खेलमा ब्वाइज युनियन क्लब र श्री कुमारी क्लबबीच खेल हुनेछ।
नेपाली लिग फुटबलको दोस्रो श्रेणीमा रहेका १२ क्लबहरु ब्वाइज युनियन क्लब, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयावस्ती युवा क्लब, झम्सिखेल युथ क्लब, रानीपोखरी कर्नर टिम (आरसिटी), सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब, बाँसबारी क्लब र श्री कुमारी क्लब हुन्।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जस्तै एन्फाले दोस्रो डिभिजनमा पनि पुछारको एक टिमलाईमात्र रेलिगेसनमा पार्ने प्रावधान राखेको छ।
‘बी’ डिभिजनको च्याम्पियन हुने टोलीले नगद १५ लाख पुरस्कारसहित शीर्ष डिभिजनमा बढुवा हुनेछ। यसैगरी दोस्रो हुने टिमले १० लाख, तेस्रो हुनेले ८ लाख र चौथो हुनेले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रत्येक टिमले तयारी खर्चस्वरुप १० लाख तथा प्रत्येक खेल खेलेवापत २५ हजार रुपैयाँका दरले पाउने एन्फाले जनाएको छ। त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपर, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले पुरस्कारस्वरुप जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने एन्फाले बताएको छ।