सम्पादकहरू भन्छन्ः चिनियाँ दूतावासको विज्ञप्ति ‘कूटनीतिक मर्यादा विपरीत’
सम्पादकहरुले पत्रिकामा प्रकाशित सामग्रीलाई लिएर चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्ति कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन् ।
बुधबार एक वक्तव्य जारी गर्दै सम्पादकहरूले प्रेसमा आएका सामग्रीप्रति असहमति, खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको सम्मान गर्ने तर कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नाम नै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति असहमति रहेको जनाएका हुन् ।
काठमाडौंस्थित चिनियाँ दूतावासले विज्ञप्तिमार्फत ‘द काठमाडौं पोस्ट्’मा मंगलबार प्रकाशित एक आलेख र तस्वीरले चीनविरुद्ध द्वेष फैलाएको भन्दै आपत्ति प्रकट गरेको थियो ।
विज्ञप्तिमा पत्रिकाका प्रधान सम्पादक अनुप काफ्ले समेतको नाम उल्लेख गरी उनी चीन मामिलामा जहिल्यै पूर्वाग्रही रहेको र यसपटक त चीनविरोधी शक्तिको सुगा बनेको आरोप समेत लगाइएको छ ।
काठमाडौं पोस्टले प्रकाशित गरेको इभो डाल्डेरको उक्त आलेखमा कोरोनाभाइरस नियन्त्रणमा चीनको गोप्यताले अझ संकट थपेको तर्क गरिएको थियो ।
आलेखमा राखिएको सटरस्टकको तस्वीरमा एकसय युआनको मुद्रामा रहेका माओको मुखमा मास्क लगाइएको तस्वीर छापिएको थियो ।
“दूतावासको यस्तो कार्यको हामी भर्त्सना गछौं”, सम्पादकहरूको वक्तव्यमा भनिएको छ, “विज्ञप्तिले कूटनीतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं ।”
सम्पादकहरू अमित ढकाल, सुधीर शर्मा, अखिलेश उपाध्याय, किरण नेपाल, कृष्णज्वाला देवकोटा, राजेन्द्र दाहाल, प्रकाश रिमाल, गुणराज लुइँटेल, सुभाष घिमिरे, अरुण बराल, वसन्त बस्नेत, हरिबहादुर थापा, पूर्ण बस्नेत, शिव गाउँले, प्रशान्त अर्याल, प्रतीक प्रधान र नारायण वाग्लेद्वारा जारी उक्त विज्ञप्तिमा नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसको रक्षा गर्न सम्पादकहरू प्रतिबद्ध भएको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।