विद्यालयमा बम बिस्फोट गराएको आरोपमा पक्राउ
प्रहरीले धरानस्थित दिल्ली पब्लिक स्कुलको गेटमा बम बिस्फोट गराएको आरोपमा मोरङका गोपाल बस्नेतलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई धरान उपमहानगरपालिका–८ बरगाछी चोकबाट पक्राउ गरेको हो।
धरान उपमहानगरपालिका–१८ स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको कम्पाउण्डभित्र रहेको स्कूलको गेटमा २० भदौं २०७६ मा बम बिष्फोट भएको थियो।
प्रहरीले बस्नेतका साथबाट ४ थान मोबाइल र डायरी बरामद गरेको छ। सुनसरी प्रहरीले बस्नेत नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग आवद्ध रहेको आशंकामा थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरीले यसअघि २७ कात्तिकमा सोही घटनामा संलग्न रहेको आरोपमा विप्लवका जिल्ला नेताहरु सुनसरी जिल्ला सेक्रेटरी, मोहन बस्नेत, युवा संगठन सुनसरी जिल्ला संयोजक सागर राई र सुनसरी जिल्ला सदस्य सुरेशकुमार राईलाई पक्राउ गरेको थियो।