अफगानिस्तानमा अब्दुल्लाहद्वारा राष्ट्रपतिको चुनावी नतिजा अस्वीकार
अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आईईसी) ले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घण्टापछि देशका मुख्य कार्यकारी अधिकारी (सीईओ) *अब्दुल्लाह अब्दुल्लाहले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गरेका छन् ।
उनले आफूले जित हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा “समावेशी सरकार” गठन गर्ने बताएका छन् ।
आइईसीले घोषणा गरेको अन्तिम नतिजामा वर्तमान राष्ट्रपति अशरफ घानीले सबैभन्दा बढी मत प्राप्त गरेको उल्लेख छ । कूल खसेको मतको ५०.६ प्रतिशत मत घानीले प्राप्त गरेको टोलो समाचार समितिले जनाएको छ ।
अब्दुल्लाहले भने ३९.५२ प्रतिशत मत प्राप्त गरेका छन् । निर्वाचन आयोगले चुनावी नतिजा सार्वजनिक गरेलगत्तै अब्दुल्लाहले विज्ञप्ति जारी गरी विवादित मतसम्बन्धी आयोगको निर्णय “अवैधानिक” रहेको र त्यो स्वीकार्य नरहेको बताए ।
उनले चुनावी नतीजा प्रजातन्त्रको बिरूद्धको कदम हो र आफूले त्यसलाई स्वीकार्न नसक्ने बताए ।
“यो राष्ट्रद्रोह हो,” अब्दुल्लाहले भने । उनले स्वतन्त्र र स्वच्छ मतदानमा आफूहरु विजयी रहेको दाबी गर्दै आफ्नो “जीत” को घोषणा गरेका छन् । उनले आफूहरुले समावेशी सरकार गठनको घोषणा गर्ने बताए ।
गत वर्ष सेप्टेम्बरको चुनावमा तालिबानले यस प्रक्रियालाई अवरुद्ध पार्ने धम्कीका बीचमा सम्पन्न भएको थियो । तालिबान समूहले राष्ट्रपतिको चुनावलाई बहिस्कार गरेका थिए ।
*सच्याइएको