राष्ट्रपतिले गरिन् राैतहटमा महायज्ञ उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले तराई–मधेसमा रहेका तिलक प्रथा, बोक्सीप्रथा जस्ता अन्धविश्वास हटाउनुपर्ने बताएकी छन् ।
रौतहटको मौलापुर–५ पतौरास्थित पुरातात्विक महादेवस्थलमा आयोजित मधानी महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मधानी महायज्ञले पर्यटन विकासमा पनि सहयोग पुग्ने बताइन्।
तराई मधेसमा पर्यटन पूर्वाधार विकासको आवश्यकता रहेको आफूलाई महसुस भएको र बाढीले वर्षेनी तराई मधेसमा ठूलो जनधनको क्षति हुने गरेकोमा आफूलाई गहिरो दुःख लागेको पनि राष्ट्रपति भण्डारीले बताइन्।
भण्डारीले नेपालको बढ्दो व्यापार घाटालाई प्रदेश २ ले कम गर्न ठूलो योगदान दिन सक्ने र तराई मधेसमा पर्यटनको ठूलो सम्भावना रहेको पनि बताइन्।
पूर्व–पश्चिम राजमार्गसित जोडिएको र निजगढ विमानस्थल बनेमा तराई मधेसमा समृद्धिको ठूलो सम्भावना भएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।
मधानी महायज्ञलाई सम्बोधन गर्नुअघि राष्ट्रपति भण्डारीले पतौराको पुरातात्विक महादेवको विशेष दर्शन र पूजा गरिन् । पतौरा महादेव मन्दिर मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
कार्यक्रमलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बोधन गर्दै मधानी महोत्सवले प्रदेशमा साम्प्रदायिक सहिष्णुतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
महिला सशक्तीकरणबिना प्रदेशको समृद्धि असम्भव रहेकाले प्रदेश सरकारले महिलाका लागि ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले दलितलाई पनि मूल धारमा ल्याउन देशमा पहिलोपटक प्रदेश सरकारले दलित ऐन ल्याएको बताए।
कार्यक्रममा नेपाली सिनेमाका कलाका निखिल उप्रेती, केकी अधिकारी, स्मिता दाहाल, भारतीय भोजपुरी सिनेमाका कलाकाहरू दिनेशलाल यादव निरहुआ, आम्रपाली दुवे, विजय यादव निर्बिज, सन्तोष राज लगायत ठूलाे संख्यामा जनसहभागिता रहेको थियो ।
सञ्जय मित्र, रौतहट