आफ्नै गाउँलेको घरमा सेनाका पूर्व हवल्दारले राखे ग्रिनेड
गोदावरीस्थित स्थानीय सुकाराम मिजारको घरमा सोमबार बम राख्ने सेनाका अवकास प्राप्त हवल्दार राजकुमार सार्की पक्राउ परेका छन्।
उनलाई महानगरीय अपराध महाशाखाको सहयोगमा महानगरीय वृत्त चापागाउँले मंगलबार पक्राउ गरेको हो । सार्कीले अवैध रकम माग गर्दै मिजारको घरको छतमा हेण्ड ग्रिनेड राखेका थिए।
नेपाली सेनाको जगदल गणबाट अवकास पाएका सार्कीले चिनजान भएका मिजारको घरको छतमा सोमबार बिहान बम राखेका हुन्। उनले बम राखेपछि मिजारसँग रकम मागेका थिए।
सेनाको बम डिस्पोजल टोलीले सोमबार नै बम निस्क्रिय गरेको थियो।
महाशाखा प्रमुख एसएसपी सहकुल थापाले एउटै गाउँका दुबैबीच व्यक्तिगत रिसइबी हुनसक्ने बताए। उनले सार्कीका विषयमा थप अनुसन्धान भइरहेको बताए।