धरतीभित्र प्राचीन शहर !
लोप भइसकेको कुनै भव्य शहरका भग्नावशेषहरू भेटिन थाल्नुले स्थानीयबासी अचम्मित र उत्साहित बनेका छन् ।
पहिलोचोटि २०५६ सालमा बारी खन्ने क्रममा भेटिएका संरचनाको अध्ययन, उत्खनन र अन्वेषण चलिरहँदा कर्णाटकालीन अवधिभन्दा निकै पुराना संरचन भएको पाइएको छ।
राैतहटकाे पतौरामा भेटिएका सोही संरचनालाई बचाउँदै निर्माण गरिएको महादेव मन्दिरमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मधानी महायज्ञ हुँदैछ।
संरचनाको बेलायतको दुर्हम विश्वविद्यालयको पुरातात्विक टोली तथा नेपालको पुरातत्व विभागले अध्ययन तथा अन्वेषण गरेको छ ।
उत्खननमा भेटिएका इँटा तथा निर्माणको संरचनागत तरिकालाई विश्लेषण गर्दा प्राचीनकालमा हुने दरबारको शैलीजस्तो रहेको जानकारहरूको भनाइ छ ।
पुरातात्विक महादेव मन्दिरको संरचना वर्तमान अवस्थाको जमिनको सतहभन्दा २२ फिट तलसम्म रहेको छ ।
मधानी महायज्ञ स्थलभन्दा करीब सय मिटर उत्तर–पश्चिममा अर्को संरचना पनि भेटिएको छ । जमिनको सतहभन्दा तीन फिट गहिरोमा भेटिएको अर्को संरचना चाहिं सानो घरको जस्तो देखिएको र दरबारको पाले बस्ने हुनसक्ने पूर्वानुमान गरिएको छ ।
नयाँ संरचनामा पनि पुरातात्विक महादेव मन्दिरकै जस्तो इँटाको प्रयोग गरिएको र दुई फिटभन्दा मोटो पर्खाल रहेको पाइएको छ ।
जमिनको सहतभन्दा तीन फिट गहिरोदेखि नौ फिट अग्लोसम्म पर्खालको संरचना रहेको पाइएको छ । नयाँ संरचना भेटिएको ठाउँबाट दक्षिणतिर जाने प्राचीन बाटोको संरचना पनि भेटिएको दाबी गरिएको छ ।
पुरातात्विक महादेव मन्दिरको पश्चिमतिर पनि एउटा अर्को संरचनाजस्तो फेला परेको तथा उत्खनन हुन बाँकी रहेको पतौराको उत्खननमा नियमित रुपमा संलग्न विजय यादव निर्बिजले बताएका छन् ।
पतौराको पुरातात्विक दृष्टिले थप अन्वेषण हुन जरुरी रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताउँदै निर्बिजले धरतीको गर्भभित्र कतै कुनै प्राचीन शहरको इतिहास पो लुकेको छ कि ? भनी प्रतिप्रश्न गर्दछन् ।
पतौराको ऐतिहासिकताबारे कतै केही उल्लेख भएको पाइएको छैन तर झन्डै लिच्छविकालमा प्रयोग भएका इँटाको संरचना तथा घर निर्माणको कलाले गर्दा कतै प्राचीन कालको कुनै सभ्य र सुसंस्कृत शहरको भग्नावशेषले इतिहासको नयाँ किसिमले अध्ययनको बाटो पो खोल्ने हो कि ?
पतौराको पुरातात्विक अन्वेषणले इतिहासको पुनर्सिजनको कथा पनि निस्कने उत्सुकताले स्थानीयबासी उत्सुक देखिएका छन् ।
सञ्जय मित्र, रौतहट