संसदमा गगन थापाको स्वस्थानी व्यंग्य : चोरीको सामान फर्काउनु र विष्णु विष्णु भन्नु
बालुवाटारको ललिता निवास सरकारी जग्गा प्रकरणमा अख्तियारले सरकारको छायाँ बनेर काम गरेको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा व्यंग्य गरेका छन् ।
थापाले मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अख्तियार, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र सरकारका प्रवक्ता गोकुल बास्कोटामाथि व्यंग्य गरेका हुन् ।
स्वस्थानी ब्रत कथा वाचनको शैलीमा कथा सुनाउँदै थापाले सामान चोरेपछि फर्काइदिएर दुई पटक विष्णु विष्णु भनेर पुकारे सबै माफ हुने भनेर व्यंग्य गरे ।
अख्तियारले यसअघि २२ माघमा बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गर्दा विष्णु पौडेलका छोरा र न्यायाधीश कुमार रेग्मीले किनेको जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाएको बताएको थियो । त्यसपछि अख्तियारको उक्त भनाइको आलोचना भइरहेको छ ।
थापाले सुनाएको स्वस्थानी व्रत शैलीको कथा:
कुमारजी आज्ञा गर्नुहुन्छ ।
विष्णुमणि,
अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु । थाहा पाइहाले होइन होइन भन्नु । चित्त बुझाउन नसकेर अप्ठेरोमा नै पर्न गए चोरीको सामान फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु ।
त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाम गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन् ।
इति श्री अख्तियार पुराणे, कुमार विष्णु सम्वादे श्री स्वस्थानी व्रतकथा बालुवाटार प्रकरण वर्णनम्, प्रथम अध्याय ।