धितोपत्र बोर्डका अध्यक्ष अयोग्यः ब्रोकर
ब्रोकरहरुले धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की नैतिक रुपमा पदमा बस्न नमिल्ने बताएका छन् ।
९ फागुनमा ५० वटै ब्रोकर कम्पनीका प्रतिनिधिले बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेललाई ज्ञापन पत्र बुझाउँदै कार्कीको क्षमतामाथि प्रश्न उठाएका हुन् ।
७ फागुनमा अर्थ समितीको बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष कार्कीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दैं ब्रोकरहरुले कार्की पदमा बस्न अयोग्य भएको बताएका हुन् ।
धितोपत्र बोर्डका अध्यक्षले ब्रोकरहरुलाई शत्रु मानेको, ब्रोकर कम्पनीमा क्षमतावान कर्मचारी नभएको, ब्रोकर कम्पनीमा सुशासन नभएको, ब्रोकर कम्पनीले देशभर शेयर खरीद बिक्री सेवा दिन नसक्नेजस्ता भ्रमपूर्ण अभिव्यक्ति दिएको ज्ञापन पत्रमा उल्लेख छ ।
तर, बोर्डका अध्यक्ष कार्कीले ब्रोकरले लगाएको आरोप निराधार भएको बताए । “मैले ससंदीय समितीमा दिएको अभिव्यक्ति तपाई पनि सुन्न सक्नु हुन्छ” उनले भने, “ब्यांकको सहायक कम्पनीलाई धितोपत्र ब्रोकर लाइसेन्स दिने विषयमा ब्रोकरहरुले मेरो विरोध गरेका हुन् ।”
ब्यांकलाई ब्रोेकर लाइसेन्स दिने नदिने विषयमा धितोपत्र बोर्ड र ब्रोकर कम्पनी विभाजित छन् ।
७ फागुनको अर्थ समितीको बैठकमा स्टक ब्रोकर एसोसियनका अध्यक्ष भरत रानाभाटले वाणिज्य ब्यांकलाई ब्रोकर लाइसेन्स दिन नहुने बताउँदा कार्कीले लाइसेन्स दिनुपर्ने पक्ष लिएका थिए । बाणिज्य ब्यांक सञ्चालकको स्वार्थमा कार्की ब्यांकको सहायक कम्पनीलाई धितोपत्र लाइसेन्स दिन लागि परेको ब्रोकरको आरोप छ ।
ब्रोकर एशोसीएसनका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिले बोर्डका अध्यक्ष कार्कीकै कारण समग्र शेयर बजार प्रभावित भइरहेको आरोप लगाए ।