क्रसरको अबैध उत्खनन् जारी
मोरङका क्रसर उद्योगले खोलामा अबैध उत्खनन् जारी राखेको पाइएको छ । जिल्ला सुरक्षा समितिले गरेको अनुगमनमा खोलामा खाडी खनेर उत्खनन् गरिएको पाइएको हो ।
उर्लाबारीस्थित पुर्वेली क्रसर उद्योगमा सोमबार गरिएको अनुगमनका क्रममा स्थानीय बक्राहा खोलामा एक्साभेटरले पोखरी आकारमा खनेर गिटी, बालुका निकालेको पाइएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी अनुप भण्डारीले क्रसर उद्योगलाई तत्कालै खोलाबाट एक्साभेटर निकाल्न आदेश गरेका छन् ।
गत ११ माघदेखि मसान्तसम्मका लागि नगरपालिकाले खोलामा मेसिन लगाएर उत्खनन गर्न दिएको पत्रका आधारमा ४ फागुनसम्म खनेको पाइएको भण्डारीले बताए । क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालयले इजाजतका सम्पुर्ण काजगपत्र लिएर उपस्थित हुन निर्देशन दिएको छ ।
“खोलाको दुई तर्फ उत्खनन् गर्दा बीचमा पानी बग्ने ठाउं खोल्नु पर्छ” उनले भने, “त्यसो नगरी खोलाको बीच भागमा खनेर पोखरी जस्तो बनाइएको छ, पानी बग्ने बाटो छैन ।” मोरङका क्रसर उद्योगले अबैध उत्खनन् जारी राखेको गुनासो आएपछि अनुगमन गर्न थालिएको उनले बताए । पुर्वेली क्रसरका संचालक गोविन्द भट्टराईले भने फागुन महिनाको इजाजत पत्र भएपनि क्रसरमा पत्र फेला नपरेकाले खोलाबाट मेसिन निकालिएको बताए ।
भण्डारीसहित गएका मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारी, सशस्त्र प्रहरी उपरिक्षक नेत्रबहादुर कार्कीलगायतलाई अनुगमनका क्रममा भट्टराईले पत्र नया“ इजाजत पत्र देखाउन सकेका थिएनन् । “नगरपालिकाको इजाजत पत्र छ, पुनः खोलामा एक्साभेटर हालेर खन्न थालिएको छ”, उनले भने ।
-कमल रिमाल