कला/साहित्य सोमबार, फागुन ५, २०७६

नेपाली ठिटो दिवेश ‘अमेरिकन आइडलको अहिलेसम्मकै ठूलो स्टार बन्नसक्ने’

हिमालखबर

नेपाली ठिटो दिवेश ‘अमेरिकन आइडलको अहिलेसम्मकै ठूलो स्टार बन्नसक्ने’

आइतबार भएको ‘अमेरिकन आइडल’को अडिसनमा छनोटसँगै एकाएक चर्चित नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए ।

आफ्नी दिदीलाई पछ्याउँदै कन्सासको विचिटा आइपुगेका दिवेशले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको दुई वर्ष मात्र भयो ।

काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि उनी अमेरिका लागेका थिए ।

“तर अच्चम, कलेज पढ्दा ऊ यति राम्रो गाउँछ भनेर धेरैलाई थाहा थिएन”, दिवेशसँगै प्लस टु सिध्याएकी धरानकी एक विद्यार्थी भन्छिन् ।

अनलाइन अडिसन र विचिटामा अमेरिकन आइडलका छनोटकर्ता सँगको प्रस्तुतीबाट आइतबारको अडिसन पुगेका २१ वर्षीय दिवेशले शुरुमा बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गीत गाएका थिए । साहित्यमा नोबेल पुरस्कार विजेता यी महान संगीतकार डिलनले सन् १९६३ मा यो गीत रेकर्ड गराएका थिए ।

दिवेश अर्थात् अर्थर गनको प्रस्तुतीबाट प्रभावित निर्णायक केटी पेरी, लियोनल रिची र लुक ब्रायनले आँखा खोलेर निर्णायकलाई हेरेर अर्को गीत गाउन लगाएका थिए, जहाँ उनले क्रिडेन्स क्लियरवाटर रिभाइभ्ड ब्याण्डको ‘ह्याभ यू एभर सीन द रेन’ गीत गाएका थिए ।

प्रस्तुतीपछि रिचीले अमेरिकालाई दिवेशजस्तै प्रतिभा चाँहिएको भन्दैं अडिसनमा सहभागी भएकोमा धन्यवाद दिएका थिए ।

अडिसनको आरम्भमै नमस्ते भन्दै हल प्रवेश गरेका दिवेशलाई निर्णायक पेरीले नमस्तेमार्फत नै अभिवादन फर्काएकी थिइन् ।

दिवेशको नामको अर्थ ‘दि बेस्ट’ हुनसक्ने भन्दै हौस्साएकी केटीले दिवेशसँग कथावाचकको क्षमता देखिएको र यसलाई कायम राख्न आग्रह गरेकी थिइन् ।

कार्यक्रमपछि पेरीले ट्विटमार्फत दिवेशलाई बधाई दिँदै लेखिकी छिन्– मभित्रको प्रकाशले तिमीमा रहेको प्रकाश देख्यो !

विचिटाको द विचिटा इगल अनलाइनले त दिवेश अमेरिकी आइडलमा छनोट भएकोमा समाचार नै बनाएको छ ।

अमेरिकास्थित अनलाइन ‘हेभी’ले निर्णायकमध्येका एक ब्रायनलाई उद्धृत गर्दै दिवेश अमेरिकन आइडलकै अहिलेसम्मका सबैभन्दा ठूला स्टार बन्नसक्ने बताएको लेखेको छ ।

दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण अल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका उनका एक दर्जनजति गीत छन् ।

दिवेशको अनुहार पहिलोपटक गत १० फेब्रुअरीमा सम्पन्न एकेडेमी अवार्ड वितरण समारोहमा देखिएको थिए । त्यहाँ अमेरिकन आइडलको विज्ञापन प्रस्तुत गरिएको थियो, जहाँ एल्टन जोनको गीत ‘टाइनी डान्सर’ गाइरहेका प्रतिस्पर्धीहरूमा दिवेश पनि देखिन्छन् ।

प्रतिकृया दिनुहोस