नेप्से परिसूचक १४०० विन्दुको छेउमा, विश्लेषक भन्छन्, ‘बुलिस ट्रेण्ड शुरु भयो’
शेयर बजार परिसूचक (नेप्से) मा आइतबार उछाल आएको छ । परिसूचक ३४.२६ अंकले बढेर १ हजार ३ सय ९८.२४ विन्दुमा पुगेको छ । यो पछिल्लो दुई वर्ष यताकै उच्च विन्दु हो ।
पछिल्ला महिनाहरुको प्रवृत्तिले बजारमा बुलिस ट्रेण्ड शुरु भएको अनुमान गरिएको छ । आइतबार नेप्सेले १ हजार ४०३.२१ विन्दुलाई छोएर १ हजार ३९८.२४ विन्दुमा आएपछि बजार बन्द भएको थियो ।
ब्यांकिङ क्षेत्रको समस्या समाधान गर्न समिति गठन गर्ने अर्थमन्त्रीको निर्णय तथा १ हजार ३५० को विन्दुको मनोवैज्ञानिक तह समेत पार गरेकाले बजारमा उछाल आएको एक शेयर विश्लेषकले बताए ।
“बजार अब बुलिस ट्रेण्डमा दौडन शुरु गरेको छ,” ती विश्लेषकले भने । आइतबार नेप्सेमा रु. २ अर्ब ६८ करोड बराबरका ६४ लाख ७४ हजार कित्ता शेयर किनबेच भए ।
सबैभन्दा धेरै पञ्चकन्या माइ हाइड्रोका लगानीकर्ताले १० प्रतिशत कमाए भने नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ५ दशमलव ६३ प्रतिशत गुमाए । आइतबार सबै समूहका परिसूचक बढेका छन् । ब्यांकिङ समूह ३.५८, व्यापार ४.९८, जलविद्युत ३.१६ प्रतिशतले बढेका छन् ।