रियल मड्रिड बराबरीमा रोकिएपछि बार्सिलोनासँग घट्यो अग्रता
स्पेनिस ला लिगामा केट्टा भिगोसँग रियल मड्रिडले अंक बाँडेको छ । आइतबार राति सकिएको खेलमा रियलले भिगोसँग दुई–दुई गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको सातौं मिनेटमै गोल गर्दै भिगोले अग्रता लिएको थियो । तर, अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकियो ।
सातौं मिनेटमा फ्योडोर स्मोलोभको गरेको गोल सँगै भिगो पहिलो हाफमा अग्रता बनाउन सफल भएको थियो । तर, दोस्रो हाफको ५२औं मिनेटमा रियलका टोनी क्रुसले गोल गर्दै बराबरी गरे ।
६५औं मिनेटमा पेनाल्टी पाएपछि रियलले २–१ को अग्रता बनायो । तर, खेलको अन्त्यतिर शान्ति मिनाले भिगोका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।
यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा अंक बाडिएको हो । रियलले बराबरी खेलेसँगै बार्सिलोनासँगको अग्रता घटेको छ । रियलले २४ खेलबाट ५३ अंक जोडेको छ भने बार्सिलोनाले समान खेलबाट ५२ अंक जोडेको छ ।