राष्ट्रिय टीममा परेनन् बिमल घर्तिमगर, अञ्जनको पुनरागमन
विश्वकप तथा एसियन कप छनोट खेलका लागि अष्ट्रेलिया विरुद्ध हुने खेलका लागि प्रारम्भिक राष्ट्रिय फुटबल टीम घोषणा गरिएको छ ।
३१ सदस्यीय प्रारम्भिक टीममा दर्शन गुरुङ, आशिस लामा र एरिक बिष्टलाई पहिलो पटक राखिएको छ । शनिबार सकिएको शहीद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेकाले यी तीन खेलाडीलाई प्रारम्भिक टीममा राखिएको छ । तर, उत्कृष्ट गोल रक्षक बनेका दीप कार्कीलाई भने टीममा समावेश गरिएको छैन ।
कुवेत विरुद्धको टीममा नपरेका अञ्जन बिष्टलाई पुनरागमन गराइएको छ । तर, बिमल घर्तिमगर र दिनेश राजवंशीलाई भने टीममा राखिएको छैन ।
बिष्ट, घर्तिमगर र राजवंशीलाई कुवेत विरुद्धको खेलका लागि भुटान जानु अघिल्लो राति क्लबमा गएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले निलम्बन गरेको थियो ।
अञ्जन ४५ दिनको निलम्बनमा परेकाले ए डिभिजनका केही बाहेकका खेल खेल्न पाएका थिए । तर, बिमल भने ९० दिनको निलम्बनमा परेकाले अन्तिम एक खेल मात्रै खेल्न पाए ।
टीममा विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, दिलेन मोक्तान, विशाल राई (बी), शेशेहाङ आङदेम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पजन उपर्कोटी, एरिक बिष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आषिश लामा र बिमल राना छन् ।