समाचार शनिबार, फागुन ३, २०७६

एमसीसी निर्णयार्थ पेश हुनासाथ पारित हुन्छः प्रधानमन्त्री

हिमालखबर

एमसीसी निर्णयार्थ पेश हुनासाथ पारित हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा सभामुखले निर्णयार्थ पेश हुनासाथ पारित हुने बताएका छन् ।

दुई वर्षे सरकारको कार्य प्रगति विवरणमाथि विपक्षी दलहरुले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले एमसीसीबारे अस्पष्ट हुनुपर्ने कारण नरहेको बताए । उनले भने, “सभामुखले निर्णयार्थ प्रस्तुत गर्नसाथ पारित हुन्छ ।”

प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा जाने बृद्धिदर रोकिएको बताए । २० प्रतिशतले बढिरहेको बैदेशिक रोजगारी एक प्रतिशतमा झरेको प्रधानमन्त्रीले बताए । “१९ प्रतिशतले बृद्धिदर रोकिएको छ । अब न्यून हुन्छ र देशमै रोजगारको अवस्था बन्छ”, प्रधानमन्त्री ओलीले भने ।

एनसेल प्रकरणमा अदालतको आदेश कार्यान्वय हुने उनले बताए । सरकारले ‘कोही भोकै पर्दैन, भोकै मर्दैन’ भन्ने संकल्पका साथ अगाडि बढेकाले कतै भोकमरी सुनिए हेलिकोप्टरबाट खाद्यन्न पुग्ने बताए ।

सीमा विवादबारे प्रष्ट हुन प्रधानमन्त्रीले आग्रह गरे । अतिक्रमित भूमि फिर्ता गर्ने प्रयास भइरहेको प्रधानमन्त्रीको भनाइ थियो । “तथ्य र प्रमाणले ती भूमि नेपालको भन्ने प्रष्ट भइसकेको छ । जमिन फिर्ता हुँदैछ भने नक्साको चिन्ता लिनुपर्दैन”, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले संविधान संशोधन उपयुक्त समयमा हुने बताए । “उपयुक्त समयमा संविधान संशोधन हुन्छ । संशोधन हुनुपर्छ भन्नेले पनि संविधान मानेको हो । संविधान स्वीकार्य भएकैले अहिले हामी यहाँ छौं”, उनले भने ।

संविधान मान्दिन भन्दा बलिदानको अपमान हुने प्रधानमन्त्रीले बताए । “संविधान मान्दिन भन्नु नाजाजय कुरा हो । संविधानको स्वीकार्यकर्ता र संशोधन अलग कुरा हो”, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले प्रस्तुत गरेको कार्य प्रगति विवरणबारे विपक्षी दलहरुले मात्रै प्रश्न उठाएका थिए ।

प्रतिकृया दिनुहोस