विश्वव्यापी काेराेनाभाइरस महामारी

५५९०३५८

हालसम्म संक्रमित

२३६६५७४

निको भएका

३४७९०७

मृत्यु हुनेको संख्या

नेपाल

६८२

जम्मा संक्रमित

११२

निको भएको

मृत्यु

अपडेटः मंगलबार, १३ जेठ २०७७ । ११ः१५ बजे बिहान | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

ब्लग शनिबार, फागुन ३, २०७६

राजाको मनसाय बुझें

भैरव रिसाल

राजाको मनसाय बुझें
भैरव रिसाल

वि.सं. २०३० को दशकतिर पनि काठमाडौं खाल्डोमा खानेपानीको अभाव नै थियो । भक्तपुरको कटुञ्जे र तल्लो दधिकोट गाउँ पञ्चायतका वडानम्बर ६ देखि ९ सम्मका करीब ५ हजार जनतालाई खानेपानी पुर्‍याउने उद्देश्यले २०३३ सालमा कटुञ्जे–दधिकोट खानेपानी आयोजनाको निर्माण थालिएको थियो ।

सरकारी बजेटबाट बनाइएको आयोजना दुई वर्षमा पूरा भयो । उद्घाटनका लागि २०३५ जेठमा राजा वीरेन्द्र गएका थिए । समाचार सङ्कलनका लागि राष्ट्रिय समाचार समिति (रासस) बाट म पुगेको थिएँ । दधिकोट मेरो आफ्नै गाउँ थियो ।

भक्तपुरको पूर्व–दक्षिण आशापुरी नजिकैको नैचालबाट पानी ल्याई सूर्यविनायक पश्चिम सुवर्णेश्वरको पाखामा ट्याङ्की बनाइएको थियो । राजा वीरेन्द्रले कटुञ्जेमा धाराको टुटी खोलेर आयोजनाको उद्घाटन गरे । लगत्तै धारा बन्द गरिहाले । सामान्यतया खानेपानी परियोजनाहरूको उद्घाटन गर्दा धाराको टुटी खोलिराखिन्थ्यो ।

रासस मा मलाई घटनाबारे जस्ताको त्यस्तै समाचार बनाउनुपर्छ भनेर सिकाइएको थियो । त्यसै बमोजिम तथ्यलाई सर्लक्क उतारेर समाचार लेख्ने मेरो शैली थियो । खानेपानी आयोजना उद्घाटनको रिपोर्टिङ गर्दा भने अलमलमा परें । राजाले कुन मनसायले धाराको टुटी खोले र तत्काल बन्द गरे ? सोध्न पनि नमिल्ने । फसाद पर्‍यो ।

दिमाग घुम्न लाग्यो, जस्ताको तस्तै समाचार कसरी बनाउने ? मैले पत्रकारिताको बुद्धि घोट्दा राजा वीरेन्द्रले धारा बन्द गर्नुलाई आफ्नै किसिमले व्याख्या गरें र समाचार लेखें– ‘श्री ५ महाराजाधिराजबाट आज सन्तानेश्वरको पाखामा कटुञ्जे–दधिकोट खानेपानी आयोजनाको धाराको टुटी घुमाई उद्घाटन गरिबक्स्यो र खानेपानी खेर नजाओस् भनी धाराको टुटी बन्द गरिबक्स्यो ।’

हुन पनि त्यो वेला खानेपानी बचत गर्नुपर्ने समय नै थियो । सुक्खायाममा कतिपय ठाउँमा त पानीको हाहाकार नै हुन्थ्यो । उद्घाटन समारोह पनि जेठको गर्मीमै परेको थियो । त्यो पृष्ठभूमिमा राजाको मनसाय आफैंले अर्थ्याएर ‘खानेपानी खेर नजाओस् भनी टुटी बन्द गरेको’ वाक्य धस्काएँ ।

लाभको लोभ भएन

राजा वीरेन्द्रका पालामा उनी जाने कार्यक्रम र योजनाबारे पहिले नै छलफल गर्ने र राजासहित सम्बद्ध सबैलाई जानकारी गराउने चलन थियो । त्यहाँबाट फर्केपछि पनि कुन काम ठीकसँग भयो, कुन भएन भन्ने जस्ता विषयको पुनरावलोकन गरिन्थ्यो । भक्तपुरको खानेपानी आयोजनाको पुनरावलोकन उद्घाटनकै दिनको बेलुकी भएछ ।

त्यो बैठकमा राजाले धाराको टुटी बन्द गरेको बारे मैले समाचारमा गरेको परिभाषालाई नै उचित ठहराइएछ । बैठकमा सहभागी केहीले त मलाई पुरस्कृत गर्नुपर्छ भन्ने कुरा पनि उठाएछन् । त्यस विषयमा पछि विचार गर्ने कुरा भएछ ।

यस्ता विषयले कहिले आकार लिन्छन्, कहिले यत्तिकै फासफुस सेलाएर जान्छन् । मलाई भने अतिरिक्त आम्दानीको लोभ नै थिएन । समाचारमा गरेको व्याख्या स्वीकृत भएछ, मेरा लागि त्यो नै सम्मान थियो ।

पञ्चायती शासनलाई जति नै जनमुखी भनिए पनि पदमा नपुगेका मान्छेको कुरा सुनिंदैनथ्यो । कटुञ्जे र दधिकोटका लागि खानेपानी ल्याउने योजना पञ्चायत आउनु अघि नै पत्ता लगाई मस्यौदा बनाइएको रहेछ ।

पहुँचले गरेको विकास

पञ्चायती शासनलाई जति नै जनमुखी भनिए पनि पदमा नपुगेका मान्छेको कुरा सुनिंदैनथ्यो । कटुञ्जे र दधिकोटका लागि खानेपानी ल्याउने योजना पञ्चायत आउनु अघि नै पत्ता लगाई मस्यौदा बनाइएको रहेछ । पत्रकारका रूपमा विभिन्न सूचना थाहा पाउने क्रममा त्यसको सुइँको पनि मैले पाएँ ।

संयोग पनि कस्तो, दधिकोटका पूर्व प्रधानपञ्च रुद्रबहादुर खड्का भक्तपुर जिल्ला पञ्चायतका सभापति भएका थिए । त्यसवेला जिल्ला पञ्चायतका सभापतिहरू आलोपालो गरी राष्ट्रिय विकास परिषदमा दुई वर्षका लागि मनोनीत हुने क्रममा रुद्रबहादुर पनि सदस्य थिए ।

अर्कातिर, म रासस को प्रमुख संवाददाता भएकाले एक तहको पहुँच थियो । राजा वीरेन्द्रको युगोस्लाभियाको राजकीय भ्रमण टोलीमा सामेल भएका कारण मलाई राजाले चिन्थे ।

यी सम्पूर्ण तारतम्य मिलेकाले राष्ट्रिय विकास परिषद्को बैठकमा रुद्रबहादुरले खानेपानी योजना निर्माणको प्रस्ताव राखे । राजासँगको भेटमा पनि त्यो कुरा दोहोर्‍याएछन् । मैले पनि आफ्नो ठाउँबाट जोड गरें ।

हाम्रो संयुक्त प्रयासबाट कटुञ्जे–दधिकोट खानेपानी योजना स्वीकृत भएर बन्यो पनि । रुद्रबहादुर जिल्ला पञ्चायतको सभापति र परिषद्का सदस्य नभएका भए, म रासस मा नभएको भए त्यो खानेपानी योजना कता हराउँथ्यो । विकासलाई शक्तिले तान्छ भन्ने दृष्टान्त हो यो ।

प्रतिकृया दिनुहोस