अर्थ/बजार शुक्रबार, फागुन २, २०७६

सूचना प्रविधि मेला भृकुटीमण्डपमा शुरु

हिमालखबर

सूचना प्रविधि मेला भृकुटीमण्डपमा शुरु

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि शुरु सूचना प्रविधि मेलाको उद्घाटन गरेका छन् । यो मेला आगामी बुधबारसम्म सन्चालन हुने छ ।

मन्त्री बास्कोटाले मेलाको शुभारम्भ गर्दै सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले यही क्षेत्रमा सुशासन ल्याउने बताए । विधेयकले सामाजिक सञ्जालदेखि सूचना प्रविधि व्यवसायको व्यवस्थापन गर्ने उद्देश्य राखेकाले यसैको सहयोगमा मु्लुकलाई ‘डिजिटल इकोनोमी’ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबीसमेत मन्त्री बास्कोटाको छ ।

सूचना र प्रविधिको क्षेत्रमा सुशासन देख्न नचाहनेले विधेयकको विरोध गरेको मन्त्री बास्कोटाको भनाइ छ । “सूचना प्रविधि क्षेत्रको विकास चाहने निजी क्षेत्रले नै यसको विरोध गरेको भेटियो,” मन्त्री बाँस्कोटाले भने, “मुलुकलाई ‘डिजिटल इकोनोमी’ मा रुपान्तरण गर्ने उद्देश्य राख्ने निजी क्षेत्रले यस विधेयकलाई गलत तरिकाले व्याख्या गरेका छन् ।” विधेयक विद्युतीय कारोबार ऐन भन्दा पनि खुकुलो भएको दाबी उनको छ ।

सरकारले अघिल्लो वर्ष संसदमा दर्ता गरेको सूचना प्रविधि विधेयक राष्ट्रिय सभा र संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पास भएको छ । यो विधेयक अहिले संसदमा विचाराधीन अवस्थामा छ । विधेयकमा रहेका कतिपय प्रावधानप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारकर्मी र नागरिक समाजले विरोध गर्दै आएका छन्।

उद्घाटन सत्रमा बोल्दै क्यान महासंघका अध्यक्ष नवराज कुँवरले क्यान महासंघले विगतदेखि अन्य सरोकारवालासँग सहकार्य गर्दै आएको भन्दै अगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताए ।

नेपालकै ठूलो प्रविधि सम्बन्धी प्रदर्शनी ‘क्यान इन्फोटेक’मा मोबाइल र ब्रोडव्यान्डलाई छुट्टै कक्ष तयार पारेर राखिएको छ । प्रदर्शनीमा प्रविधि कम्पनीको उत्पादनसहित ब्राण्डलाई समेट्ने गरी व्यवस्थापन गरिएको क्यान महासंघका महासचिव नारायण थापाले बताए ।

योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले सुखी नेपाली र समृद्ध नेपाल बनाउन सरकारले राखेको १० उद्देश्यमध्ये कनेक्टिभिटी एक भएको भन्दै सूचना प्रविधि क्षेत्रको विकासको लागि आवश्यक सहयोग सरकारले गर्ने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउने गरी विभिन्न कार्यक्रम अगाडि बढेको जानकारी गराए ।

वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले सन् १९९५ मा पहिलो पटक प्रदर्शनी हुँदा वर्ल्डलिंक सहभागी हुने अवसर पाएको र प्रविधिको ज्ञान बाँड्न सहजीकरण गर्दै गएको बताए । प्रदर्शनीमा १ सय ७४ वटा स्टल राखिएका छन् । प्रदर्शनीमा स्टार्टअप र इनोभेटिभ व्यवसाय गर्नेहरुलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ।

प्रतिकृया दिनुहोस