समाचार शुक्रबार, फागुन २, २०७६

विपतका लागि तालिम प्राप्त जनशक्ति आवश्यक: प्रम ओली

हिमालखबर

विपतका लागि तालिम प्राप्त जनशक्ति आवश्यक: प्रम ओली

प्रधानमन्त्री के.पी. शर्मा ओलीले विपत्तिहरूको समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको मैदानमा शुक्रबार आयोजित सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज निरीक्षणका क्रममा उक्त कुरा बताएका हुन्।

दीक्षान्त कवाज समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउने बताए ।

साथै उनले विपद्को उच्च जोखिम भएको हाम्रो राष्ट्रमा विपत्तिहरूको समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रलाई आवश्यक परेको बेलामा निस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रुपमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्ने कार्यमा तालिमको दौरान हासिल गरेका ज्ञानले उक्त कार्यका लागि अभिप्रेरित र सहयोग गर्नेमा विश्वस्त रहेको समेत उललेख गरे।

२०२२ सालबाट नेपाली सेनाले नेपालभरिका विभिन्न निजी तथा सरकारी विद्यालयमा अध्ययनरत छात्रछात्राहरू सहभागी गराई तालिम सञ्चालन गर्दै आएको छ ।

सो क्रममा हालसम्म कुल ५१ हजार ३३२ जना क्याडेट छात्रछात्राहरूले उक्त तालिम हासिल गरिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस