समाचार शुक्रबार, फागुन २, २०७६

बल्न थाले विमानस्थलका निभेका गुलुबहरु

हिमालखबर

बल्न थाले विमानस्थलका निभेका गुलुबहरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जहाज अवतरणका लागि राखिएका आवश्यक सबै अप्रोच लाइटहरु मर्मत भएका छन् । विमानस्थलको जहाज अवतरण हुने क्षेत्रका ल्याम्पोस्टमा राखिएका केही बत्तीहरु बिग्रिएका थिए ।

उक्त विषयमा हिमाल खबपरपत्रिकाको १९–२५ माघ अंकको उकालो लाग्दा स्तम्भमा कनकमणि दीक्षित ले विमानस्थलका निभेका गुलुबहरु शीर्षकमा विमानस्थल प्रशासन र सम्बन्धित मन्त्रालयको ध्यान आकृष्ट हुनुपर्ने भन्दै लेख लेखेका थिए ।

विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जहाज अवतरण क्षेत्रका १ सय ५० वटा लाइटमा ८-९ वटा बिग्रिएको बताए । बिग्रिएका ती सबै लाइटहरु बनाइसकिएको र अहिले सबै बल्ने अवस्थामा रहेको उनले जानकारी दिए ।

प्रवक्ता कर्णले २५ प्रतिशत अर्थात करीब ३७ वटा लाइट बिग्रिएको अवस्थासम्म जहाज उडान अवतरणमा कुनै समस्या नहुने बताए । उनले यो भन्दा बढी बल्बहरु बिग्रिए भने समस्या आउनसक्ने बताए।

“लाइट धेरैवटा बिग्रियो र कुनै समस्या हुने देखियो भने पाइलटले नै खबर गर्छन् । थोरै लाइट बिग्रदा र केही नबल्दा कुनै फरक पर्दैन,” प्रवक्ता कर्णले भने।

बाहिरबाट हेर्दा यस्तो महत्वपूर्ण ठाउँको लाइट किन बल्दैन भन्ने लाग्नु स्वाभाविकै भएकाे उनको तर्क थियो । तर, यसको निश्चित प्रावधान हुने र कहिलेकाहीँ केही लाइट बिग्रने समस्या भइरहने उनको भनाइ थियो ।

बिक्रम राईले गतसाता खिचेको त्रिभुवन हवाईअड्डाको ‘अप्रोच लाइट’ ।
अप्रोच लाइट मर्मत गरेपछि त्रिभुवन विमानस्थलको कार्यालयले फेसबुकमा राखेको तस्वीर।

 

विमानस्थलका निभेका गुलुबहरू

 

प्रतिकृया दिनुहोस