समाचार शुक्रबार, फागुन २, २०७६

सञ्चारमन्त्रीको प्रश्न : आफ्नासँग अंगालो मारे पनि हुन्छ तर अर्कासँग किन जिस्किने ?

हिमालखबर

सञ्चारमन्त्रीको प्रश्न : आफ्नासँग अंगालो मारे पनि हुन्छ तर अर्कासँग किन जिस्किने ?
फाइल तस्वीर

सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले विधेयकको बारेमा गलत ब्याख्या भइरहेको बताएका छन् । क्यान इन्फोटक २०२०को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सूचना प्रविधि विधेयक धेरै लचक भए पनि गलत व्याख्या भइरहेको बताएका हुन् ।

मन्त्री बास्कोटाले डिजिटल क्षेत्रको पारदर्शीता, सुशासन र यसको बैधताका लागि विधेयक ल्याइएको बताए । विधेयक पारित नभए डिजिटल कारोबारले बैधता नपाउनेसमेत उनको जिकिर थियो ।

विधेयकमा दण्ड जरिवाना बढी भए पनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारवाही हुने बताए ।

अभिव्यक्ति स्वतन्त्रता भनेर कराउनेहरुले डिजिटल क्षेत्रमा पारदर्शीता र सुशासन आएको नदेखेको उनको आरोप थियो ।

बास्कोटाले हल्ला गर्नेहरुले नीजि क्षेत्रको अराजकतावादलाई प्रोत्साहन गर्न खोजेको भन्दै जिस्काए वापत सजाय हुने भन्ने कुरामा यत्रो हैरानी भइरहेको उनको तर्क थियो ।

"अर्कालाई हैरानी गर्ने कस्तो कल्चर हो ? आफ्नालाई हैरानी गरे त ठिकै छ, अंगालो मारेपनि राम्रै हो," उनको प्रश्न थियो "अर्कालाई हैरानी गर्ने ? राति सुतेको बेला पनि हैरानी गराउनेले दनक नखाए के खाने ?"

प्रतिकृया दिनुहोस